निशा राई
धरान, फागुन २४ गते। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी हुनुभएको छ।
राईले ३५ हजार ७ सय ४१ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङले २७ हजार २ सय ४९ मत प्राप्त गर्नुभएको छ।
राई ८ हजार ४ सय ९२ बढि मतान्तरले विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले ६ हजार १ सय ८५ मत प्राप्त गर्नुभएको छ। नेकपा (एमाले) का उम्मेदवार टिकाराम लिम्बुले ६ हजार ४ सय ६३ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार ९ सय ७० मत प्राप्त गर्नुभएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी–१ मा कुल १ लाख ५० हजार ३ सय ९३ मतदाता रहेका छन्। कुल मतमध्ये ४७ हजार ९ सय ८ महिला र ४० हजार ४ सय ६४ पुरुष मतदाताले मतदान गरेका छन्।
सुनसरी १ को कुल मतमध्ये ८७ हजार ४ सय ७१ मत खसेको थियो। जसमा ४ हजार ३ ८९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
सामाजिक अभियन्ताका रूपमा पहिचान बनाएका राई अहिले संघीय संसदसम्म पुग्नुभएको छ। स्थानीय मुद्दा उठाउँदै आउनुभएको उहाँले निरन्तर संघर्ष र जनसमर्थनको आधारमा धरानको स्थानीय राजनीतिदेखि राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गर्नुभएको हो।
लाहुरे परिवारमा जन्मिनुभएको राईले खोटाङको कोपिलासगढी गाउँपालिका–खार्ताम्छामा प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो। प्रवेशिका उत्तीर्ण गरेपछि उहाँ २०५६ सालतिर धरान झर्नुभएको हो। धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्र विषयमा स्नातक तहसम्म अध्ययन गर्नुभएको छ।
२०७२ सालमा धरान–१० स्थित धनकुटे रोड हुँदै चतरातर्फ सडक विस्तार गर्ने क्रममा स्थानीयवासी विस्थापित हुनुपर्ने अवस्था आएपछि राईले पीडितसँग मिलेर आन्दोलन गर्नुभएको थियो। त्यही आन्दोलनबाट उहाँ सामाजिक अभियन्ताका रूपमा चिनिन थाल्नुभएको हो।
गत २०७९ सालको स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको थियो । त्यससँगै धरानले पहिलो पटक स्वतन्त्र नगर प्रमुख पाएको थियो ।
नगरप्रमुख बनेपछि उहाँले श्रमदानको पुनः विकास गर्नुभई विभिन्न अभियान श्रमदान मार्फत सुरु गर्नुभएको थियो । उहाँको पहलमा धरान–२० स्थित कोकाहा खोलाबाट पानी ल्याउने अभियानअन्तर्गत ९८ दिनमा श्रमदानमार्फत धरानमा पानी ल्याउन सफल भएको थियो ।यस अभियानले राईलाई थप व्यापक जनसमर्थन दिलाएको थियो ।
स्थानीय विकास, खानेपानी, सरसफाइ र सडक सुधारका मुद्दामा सक्रिय रहँदै उहाँले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनुभएको थियो ।निर्वाचनमा उहाँले निकटतम प्रतिस्पर्धी गोमा तामाङलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
राईको यस राजनीतिक यात्रा सामाजिक अभियान, सडक आन्दोलन, स्वतन्त्र नगर प्रमुख हुँदै संघीय संसदसम्म पुगेको छ ।