• २८ पुस २०८१, आइतबार

सिमेन्टपछि छड निर्यात

blog

विश्वास रेग्मी/कपिल ज्ञवाली

काठमाडौँ/सिद्धार्थनगर, साउन ५ गते ।  परम्परागत निर्यातका वस्तुबाहेक पछिल्लो समय नेपालबाट नयाँ वस्तु तथा सेवाको निर्यात सुरु भएको छ । भारतमा पहिलो पटक विद्युत् निर्यात गरेको नेपालले हालैमात्र सिमेन्ट निर्यात सुरु गरेको थियो । सिमेन्ट निर्यात सुरु भएको दुई हप्ता नबित्दै नेपालले पहिलो पटक भारतका लागि फलामे छड पनि निर्यात गरेको छ । 

रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित श्री स्टिल्स प्रालिले बुधबार पहिलो पटक फलामे छड भारत निर्यात गरेको हो । औपचारिक कार्यक्रम गर्दै उद्योगले भारतको उत्तर प्रदेशमा पहिलो पटक करिब ३५ मेट्रिक टन टीएमटी फलामे छड निर्यात भएको जनाएको हो । फलामे छड निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणीकरण पाइसकेको र सरकारले समेत बजेटमा अनुदान व्यवस्था गरेपछि निर्यात सुरु गरिएको उद्योगका सञ्चालक राजेशकुमार अग्रवालले बताउनुभयो । “भारतसँग निर्यात प्रक्रिया सहज होस् भनेर पनि पहिलो चरणमा एक ट्रक छड निर्यात गरेका हौँ,” उहाँले भन्नुभयो ।  

चालू आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले निर्यातको प्रचुर सम्भावना भएका वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरेपछि सूचीमा समेटिएका सिमेन्ट तथा छडको निर्यात सम्भव भएको हो । बजेटले नेपालबाट क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित सेवाजस्ता सूचीमा समेटिएका वस्तुको निर्यातमा आठ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको थियो । 

त्यस्तै वार्षिक १० करोड रुपियाँभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई विद्युत् महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था बजेटले गरेको छ । विद्युत्को अत्यधिक खपत हुने फलामे डन्डीले यो व्यवस्थाको पनि लाभ लिन सक्नेछन् । फलामे डन्डी निर्यात सुरु भए पनि सरकारले घोषणा गरेको अनुदानको कार्यविधि निर्माण गरेर तत्काल लागू हुनुपर्नेमा उद्योगीको जोड छ । त्यस्तै नेपालको गुणस्तर प्राप्त गरेका उद्योगलाई सहजै आईएसको प्रमाणीकरणका लागि भारत सरकारसँग सहजीकरण गरिदिन पनि उद्योगीले माग गरेका छन् । अहिले नेपालका उद्योगले भारतबाट यस्तो चिह्न प्रमाणीकरणका लागि एक वर्षभन्दा बढी समय खर्चनु परेको छ ।  

देशभर अहिले साना तथा ठूला गरेर ३० वटा स्टिल उद्योग सञ्चालनमा छन् । तीमध्ये १० वटा उद्योगले बिलेटसमेत उत्पादन गर्छन् । यी सबै उद्योगको वार्षिक जडित क्षमता करिब ३५ लाख मेट्रिक टन छ । त्यसमध्ये नेपालमा वार्षिक बढी १५ लाख मेट्रिक टन छड तथा पत्ती मात्र खपत हुन्छ । उत्पादन क्षमताभन्दा माग कम हुँदा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । आन्तरिक खपतपछि बाँकी रहने २० लाख मेट्रिक टन छड वार्षिक रूपमा भारत निर्यात गर्न सकिने उद्योगी बताउँछन् । 

नेपालको सीमासँग जोडिएका भारतका उत्तर प्रदेश र बिहार राज्यमा पूर्वाधार परियोजना निर्माणको काम भइरहेकाले नेपाली छडको ठूलो बजार त्यहाँ रहेको छ । ती क्षेत्रमा फलामे छडको उद्योग नरहेको र लामो दूरी पार गरेर पश्चिम बङ्गालको दुर्गापुरबाट छड ल्याउनुपर्ने बाध्यता छ । त्यसको विकल्पमा नेपालबाट छोटो दूरी र समयमै ती ठाउँमा फलामे छड निर्यात गर्न सकिने सम्भावना रहेको उद्योगीको भनाइ छ ।