• २४ फागुन २०८२, आइतबार

विकास र परिवर्तनका लागि प्रतिबद्धता : प्रमोद कुमार

blog

प्रमोद कुमार महतो

अजय शाह
गौशाला (महोत्तरी), फागुन २४ गते ।
महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोद कुमार महतो विजयी भएपछि यस क्षेत्रको विकास र परिवर्तनका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै महतोले जनताको विश्वासअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले यो विजय व्यक्तिगत सफलता नभई जनताको परिवर्तनप्रतिको चाहना र विश्वासको जित भएको बताउनुभयो।

उहाँका अनुसार महोत्तरी–१ का ३० वटै वडाका मतदाताले देखाएको भरोसालाई व्यवहारमा उतार्दै क्षेत्रको विकास र समृद्धिका लागि आफू पूर्ण रूपमा समर्पित रहने बताउनुभयो। “यस क्षेत्रमा एक लाखभन्दा बढी मतदाता हुनुहुन्छ। म सबै जनताको दुःख–सुखमा साथ दिनेछु र जनताको अपेक्षाअनुसार काम गर्ने प्रयास गर्नेछु,” उहाँले भन्नुभयो।निर्वाचन परिणामअनुसार उहाँले ३४

हजार ६३६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गर्नुभएको छ।

महतोले आगामी दिनमा क्षेत्रको विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो। किसानको उत्पादन वृद्धि, आधुनिक कृषि प्रणालीको विकास तथा युवाहरूका लागि रोजगारी सिर्जना गर्ने विषयमा विशेष ध्यान दिने उहाँको भनाइ छ।

त्यसैगरी महोत्तरी क्षेत्र नम्बर १ मा देखिएको क्रसर (कर्सर) उद्योगसँग सम्बन्धित समस्याप्रति पनि आफू गम्भीर रहेको उहाँले बताउनुभयो। “म पहिले क्रसर व्यवसायमा नै संलग्न थिएँ, तर अहिले छैन। यस क्षेत्रमा देखिएको क्रसर आतङ्कलाई अन्त्यतर्फ लैजान आवश्यक पहल गर्नेछु,” उहाँले स्पष्ट पार्नुभयो।

चुरे क्षेत्रमा भइरहेको प्राकृतिक स्रोतको दोहनप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको संरक्षणका लागि सम्बन्धित निकायसँग समन्वय गरी प्रभावकारी कदम चाल्ने प्रतिबद्धता पनि जनाउनुभयो।

उहाँले आफूलाई जनताको प्रतिनिधि मात्र नभई जनताको छोराका रूपमा सेवा गर्ने बताउँदै भन्नुभयो, “म जनताको छोरा हुँ। जसरी एउटा छोरालाई आफ्नो परिवारप्रति माया हुन्छ, त्यसैगरी मलाई आफ्नो क्षेत्र र जनताप्रति माया छ। यदि हामी जनताको विश्वासमा खरो उत्रिन सकेनौँ भने जनताले हामीलाई पनि अस्वीकार गर्नेछन्।”