गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २४ गते । मधेस प्रदेशको धनुषा निर्वाचन क्षेत्र नं. १ को मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत मनोज बरालका अनुसार आज दिउँसो २ बजेसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको छ ।
निर्वाचन आयोगले आफ्नो आधिकारिक पोर्टलमा यस क्षेत्रको विवरण अद्यावधिक गरी नसके पनि मतगणना स्थलमा तीव्ररूपमा कार्य भइरहेको छ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह 'कमल' को उम्मेदवारीलाई निर्वाचन आयोगले फागुन १८ गते खारेज गरेको थियो । उम्मेदवारको सूचीबाट उहाँको नाम हटाइए पनि मतपत्र छापिसकिएकाले 'घण्टी' चिह्न कायमै थियो, जसमा मतदाताले उल्लेख्य मतदान गरेका छन् ।
निर्वाचन अधिकृत बरालले भन्नुभयो, “मतपत्रमा घण्टी चिह्न कायमै रहेकाले मतगणनाका सम्बन्धमा आयोगसँग समन्वय गरिएको छ । आयोगले घण्टी चिह्नमा खसेको मतलाई छुट्टै गणना गरी सुरक्षित राख्न र अन्य बहालवाला उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्नेलाई विजयी घोषणा गर्न निर्देशन दिएको छ । सोही बमोजिम गणना कार्य अघि बढाइएको छ ।”
बैंकिङ कसुर वा कालो सूचीमा परेर उम्मेदवारी खारेज भएपछि किशोरी साहले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । यो समाचार तयार पार्दासम्म उक्त रिटमाथि सुनुवाइ भई फैसला आइसकेको छैन । निर्वाचन कार्यालयले औपचारिक रूपमा मत सार्वजनिक नगरे पनि प्राप्त जानकारी अनुसार उम्मेदवारी खारेज भएका साह नै मतगणनामा अग्रस्थानमा रहनुभएको छ ।
आयोगको निर्देशन पालना भएमा साहबाहेकका प्रतिस्पर्धीमध्ये सबैभन्दा बढी मत पाउने उम्मेदवार विजयी घोषित हुने सम्भावना छ । यद्यपि, यस क्षेत्रको परिणामको अन्तिम किनारा भने सर्वोच्च अदालतको फैसलाले नै लगाउने देखिएको छ ।