बोमलाल गिरी
नवलपुर, फागुन २४ गते । नवलपुर निर्वाचन क्षेत्र नम्बर १ मा ३४ वर्षपछि नेपाली कांग्रेसको विरासत ढलेको छ। यस क्षेत्रमा कांग्रेसका बालकृष्ण घिमिरेलाई फराकिलो मतान्तरले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतम निर्वाचित हुनुभएको हो।
गौतमले ५० हजार ९४५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका घिमिरेले १६ हजार २९३ मत प्राप्त गर्नुभएको छ। गौतमले घिमिरेलाई ३४ हजार ६५२ मतान्तरले पराजित गर्नुभएको हो।
वि.सं. २०४८ सालयताका सबै निर्वाचनमा कांग्रेस विजयी हुँदै आएको नवलपुर–१ मा रास्वपाका ३९ वर्षीय गौतम निर्वाचित हुनुभएको छ। यसअघि यो क्षेत्रबाट कांग्रेसका डा. शशाङ्क कोइरालाले लगातार चार पटक निर्वाचन जित्नुभएको थियो।
सक्रिय राजनीतिमा आउनुअघि प्राध्यापन पेसामा रहेका गौतमले २०७९ सालको निर्वाचनमा पनि २४ हजार ५०० मत प्राप्त गर्नुभएको थियो। दोस्रो पटकको प्रयासमा गौतम यस पटक संसद्मा निर्वाचित हुनुभएको हो।