• १ जेठ २०८१, मङ्गलबार

वर्षाले तराईमा डुबान, पहाडमा पहिरो

blog

धनगढी, साउन ५ गते । सुदूरपश्चिमका विभिन्न क्षेत्रमा मङ्गलबार र बुधबारको वर्षाले तराईका बजार डुबान र ग्रामीण सडक अवरुद्ध बनेका छन् । कतिपय स्थानमा बाढी र पहिरोले घरमा क्षति पु¥याएको छ । दुई दिनको निरन्तरको वर्षाले गाउँबस्तीमा पहिरोको जोखिमसमेत बढाएको छ । यद्यपि तराईका केही जिल्लामा किसानले राहत महसुस गरेका छन् । 

धनगढी समाचारदाताका अनुसार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा वर्षाले डुबान भएको छ । पानीको उचित निकास नहुँदा हरेक वर्षायाममा धनगढी डुबानहुँदै आएको छ । बुधबारको मुसलधारे वर्षाले धनगढी डुबानमा परेको छ । वडा नम्बर ३ को मित्रनगर, केदार टोल, विशालनगर, मिलनचोक क्षेत्रमा पानी जमेको वडा अध्यक्ष राजबहादुर ऐरले जानकारी दिनुभयो । 

वर्षाको पानी सजिलै निकास नहुँदा मुख्य सडक पनि जलमग्न हुने गरेको छ । पानी परेपछि पार्क मोड क्षेत्रको मुख्य सडक बिहानैदेखि जलमग्न भएको थियो । पानी जमेर सडक जलमग्न भएपछि विद्यार्थी र यात्रुलाई गन्तव्यतर्फ जान समस्या भएको थियो । मुख्य सडक जलमग्न भएपछि पसल खोल्न पनि समस्या भएको पार्क मोडका व्यवसायी मनोज चौधरीले बताउनुभयो । उहाँले पानीको उपयुक्त निकास नहुँदा सो स्थानमा हरेक वर्ष यो समस्या भोग्दै आएको बताउनुभयो ।

धनगढी बजारको मुख्य सडक क्षेत्रको पानी निकासका लागि उपयुक्त ढल निकासको व्यवस्था छैन । भएका पुराना ढल विभिन्न स्थानमा पुरिँदै गएका छन् । यसैगरी खोलानाला अतिक्रमण गरी संरचना बनाइएको छ । खोलानालामा पानीको प्राकृतिक बहाव नै अवरुद्ध हुने गरी संरचना बनाइएपछि धनगढीको विभिन्न क्षेत्रमा डुबान हुँदै आएको छ । 

पानी निकासको उचित व्यवस्था नभएको र खोलानालामा भएको अतिक्रमणका कारणले सामान्य वर्षामै धनगढीको केही स्थान जलमग्न हुने गरेको छ । यस वर्ष डुबान समस्या कम गर्ने भन्दै धनगढी उपमहानगरपालिकाले कैलाली नालामा भएको अतिक्रमण र अवरोधसमेत हटाउने अभियान सुरु गरेको थियो तर सबै स्थानमा सो कार्य हुन सकेन । वडा नम्बर ५ तारानगरस्थित बालबिहानीबाट सुरु गरिएको अतिक्रमण हटाउने कार्य वडा नम्बर ५ कै आमाको माया छात्रबाससम्म पुगेपछि रोकिएको छ । वर्षा लागेपछि सो कार्य रोकिएको जनाइएको छ । खोलानाला अतिक्रमण गरी प्राकृतिक बहावलाई रोक्ने कार्य भएकाले डुबान समस्या समाधानका लागि अतिक्रमित क्षेत्र खाली गराउन आवश्यक रहेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो । उहाँले पानीको प्राकृतिक बहाव रोकिने गरी भएको अतिक्रमण नहटाइएसम्म डुबान समस्या समाधान नहुने बताउनुभयो । उपमहानगरपालिकाले अतिक्रमण हटाउने र नाला सरसफाइ गर्ने अभियानलाई निरन्तरता दिने प्रमुख हमालले बताउनुभयो ।

बैतडी समाचारदाताका अनुसार मङ्गलबार रातिदेखि परेको अविरल वर्षाले बैतडीका १० वटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका छन् । बुधबार बिहान सुर्नया गाउँपालिका–८, सेलामा पहिरो खस्दा स्थानीय धनी साउदको दुई कोठे पक्की पसल पुरिएको छ । पसलमाथि रहेको गणेश आधारभूत विद्यालयको जमिन भासिएर आएको पहिरोले पसल भत्केपछि पसलमा क्षति पुगेको धनी साउदले बताउनुभयो । 

पहिरोले सोही ठाउँका स्थानीय रमेशबहादुर साउदको घर जोखिममा परेको छ । घटनाबारे स्थानीय ढोल्यामोड प्रहरी चौकीमा खबर गरेको साउदले जानकारी दिनुभयो ।

त्यसैगरी बैतडी–बझाङ सडक खण्डको पाटन नगरपालिका–८, खोड्पेदेखि भञ्ज्याङसम्म ठाउँठाउँमा पहिरो खसेको छ । सात घण्टा यातायात अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय पाटन बैतडीको पहलमा पहिरो पन्छाएर बुधबार अपराह्नदेखि यातायात सञ्चालन भएको पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश विष्टले जानकारी दिनुभयो । 

स्थानीय तहका ग्रामीण सडकमा पहिरो खस्दा यातायात सञ्चालन हुन नसकेको विष्टले बताउनुभयो । बैतडीको पुरचौडी नगरपालिकाको हाट सडक खण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । सिगस गाउँपालिकाका ग्रामीण सडकमा पहिरो खस्दा यातायात चल्न सकेका छैनन् । 

ग्रामीण सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको सुर्नया गाउँपालिका–८ का स्थानीय तेज बोहराले बताउनुभयो । अविरल वर्षाले सिगास गाउँपालिका–३ को ग्रामीण सडकमा ठाउँठाउँमा पहिरो गइरहेको स्थानीयवासी नवीन साउदले जानकारी दिनुभयो । पहिरोका कारण बिप्याकटाल–ढुङ्गाढ सडकखण्ड अवरुद्ध भएको उहाँले बताउनुभयो । 

बाजुरा समाचारदाताका अनुसार बूढीगङ्गामा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका–२ को भौनेरामा दुई घर बगाएको र अन्य घर जोखिमा परेको छ । मङ्गलबार बूढीगङ्गा नदीमा आएको बाढीले घर बगाएपछि परिवार बिचल्लीमा परेको जनाइएको छ । बूढीगङ्गामा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका–२ का अम्मरराज पण्डित, तर्कराज पण्डितको घर बगाएको र अन्य घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बडिमालिका नगरपालिका–२ का अम्मरराज पण्डितले घर–जमिन सबै बूढीगङ्गा नदीले बगाइदिएपछि बस्ने, खाने समस्या भएको बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले बूढीगङ्गा नदीमा आएको बाढीले दुई घर बगाउँदा ती घरमा रहेको खाद्यान, लत्ताकपडा र भाँडालगायतका सबै नष्ट भएको बताउनुभयो ।

उहाँका अनुसार जोखिमामा रहेका २३ घरपरिवारलाई सुरक्षित स्थानमा त्रिपाल हालेर बसोबासको व्यवस्था गराइएको छ । गत वर्षको जस्तै यो वर्ष मानवीय क्षति नभए पनि अन्य खेतीपाती खाद्यान घरमा रहेका भाँडावर्तन सबै समाग्रीसमेत बाढीले बगाएको जनाइएको छ ।

घटनास्थलमा प्रहरी टोली खटाइएको र के कति क्षति भयो भन्ने विवरण प्रहरी टोली फर्किएपछि मात्र जानकारी हुने प्रहरीले जनाएको छ ।

डडेल्धुरा समाचारदाताका अनुसार डडेल्धुराको भित्रीमधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकास्थित पुन्तुरा खोलामा जेसिबीको प्रयोग गर्दै स्थानीयले नदी वारपार गरिरहेका छन् । मङ्गलबार साँझदेखि निरन्तर वर्षा भएपछि खोलामा पानीको बहाव बढेको छ । नगरपालिका सदरमुकाम नजिक रहेको पुन्तुरा खोलामा स्थानीयले नदी तर्न नसकेपछि जेसिबीको सहयोगबाट तारिएको हो ।

परशुराम नगरपालिकाका उपप्रमुख विमला महताराका अनुसार नगरपालिकामा कामविशेषले आउने नागरिक खोलामा फसेपछि उद्धार गरिएको थियो । पुन्तुरा खोलामा पुल नहुँदा स्थानीय ज्यान जोखिममा राखेर वर्षाका बेला आउजाउ गर्न बाध्य छन् । परशुराम नगरपालिका–६ बाट विद्यार्थी सदरमुकाम जोगबुडामा पढ्न आउने गर्दछन् । दार्चुला समाचारदाताका अनुसार दार्चुलाका नौवटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८÷७९ मा ५९० घरपरिवारमा बाढीपहिरोले क्षति गरेको छ । 

मङ्गलबार रातिदेखिको अविरल वर्षाका कारण लेकम, दुदुँ, नौगाड, अपिहिमाल, मालिकार्जुन गाउँपालिकाका दर्जनौँ घर पहिरोको उच्च जोखिममा रहेको जनाइएको छ ।महाकाली लोकमार्गको विभिन्न स्थानमा खसेको पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ । बाढी र पहिरोकै कारण ग्रामीण सडकमा यातायातका साधन चल्न छोडेका छन् । निरन्तर वर्षा भइरहेकोले पहिरोको जोखिमका कारण राति निद्रा लाग्न छोडेको लेकम गाउँपालिका–२ का स्थानीय नारायण जोशीले बताउनुभयो ।  दार्चुलाका सयौँ घर विगतदेखि नै पहिरोको चपेटामा पर्दै आएका छन् । बाढीपहिरोका कारण २०७८÷७९ मा नौ जनाले ज्यान गुमाएका थिए । 

दार्चुलाको अपिहिमाल गाउँपालिका–४ मा रहेको ठूलढुङ्गी पुल बाढीले बगाएको छ । बाढीले पुल बगाएपछि अपिहिमाल गाउँपालिकास्थित सरस्वती आधारभूत विद्यालय मरखोलामा अध्ययनरत विद्यार्र्थीलाई विद्यालय जानसमेत जोखिम भएको छ ।

धनगढी समाचारदाताका अनुसार रोपाइँ गरेर धानबालीका लागि पानी पर्खेका किसानलाई धेरै राहत भएको छ । बुधबार बिहानैदेखि मुसलधारे वर्षा भएपछि कैलालीका किसानलाई राहत भएको हो । मध्य असारबाट पानी नपर्दा खेतको धान सुक्न थालेका थिए । आली भर्ने गरी पानी परेपछि भने धेरै राहत भएको धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँका कृषक सन्तराम रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी नपर्दा खेतमा धाँजा फाटिसकेको थियो । लामो पर्खाइपछि परेको पानीले धानलाई धेरै राम्रो गरेको छ ।” कृषक रानाका अनुसार पानी नपर्दा धान सुक्न थालेको थियो । पानी पर्खौं कि अब सुक्न लागेको धानमा बोरिङमार्फत सिँचाइ गरौँ भन्ने दोधारमा किसान थिए । उहाँले भन्नुभयो, “जे होस् आज प¥यो । अब बोरिङले सिँचाइ गर्नुपर्दैन । खर्च जोगियो ।” 

यस वर्ष नेपालमा मनसुनी वर्षा सरदरभन्दा बढी रहेको पूर्वानुमान भए पनि अहिलेसम्म ठूलो वर्षा भने भएको छैन । रोपाइँकै बेला पानीको अभाव झेलेका किसानले धान रोपिसकेपछि पनि त्यही समस्या झेलिरहेका थिए । चर्को घाम लाग्दा भएको सुक्खाका कारण धान नै सुक्न थालेपछि कतिपय किसाले त धान रोपेको खेतमा बोरिङमार्फत सिँचाइ गरिरहेका थिए ।

कृषि ज्ञान केन्द्रका अनुसार कैलालीमा यस वर्ष ६९ हजार पाँच सय हेक्टर जमिनमा धान खेती भएको छ । आकाशे पानीको भरमा खेतीपाती गर्ने केही स्थानमा बाहेक प्रायः सबैतिर रोपाइँ सम्पन्न भइसकेको जनाइएको छ । जिल्लाको पहाडी क्षेत्र चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका किसानले ढिलो रोपाइँ गर्ने गरेका छन् । सिँचाइ सुविधा नभएका त्यहाँको किसानले रोपाइँ गर्न आकाशे पानीको भर पर्ने गरेको ज्ञान केन्द्रले जनाएको छ ।