शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जिन्दगी बोझ हुन्छ जस्तो लाग्यो
त्यसैले सपना देख्न छोडेँ
जिन्दगी टाढिन्छ जस्तो लाग्यो
त्यसैले क्षितिज हेर्न छोडेँ
बाँच्ने उमेर यो कतै फुत्की नजाओस्
त्यसैले उचाइ आँक्न छोडेँ !
जे छ सबै आँखाअगाडि छ
यतै रात छ, यतै बिहान छ
अँजुलीको पानी पिउन छोडेर
किन सागर उबाउन जानु छ ?
जिन्दगी, तिर्खा हुन्छ जस्तो लाग्यो
त्यसैले विधाता भाक्न छोडेँ !
धुलै भए नि जमिन त छ
टेक्ने ठाउँ छ, बस्ने आँगन छ
मुट्ठीको जीवन भोग्न छोडेर
किन बादल समाउन जानु छ ?
जिन्दगी सुर्ता हुन्छ जस्तो लाग्यो
त्यसैले दोबाटो नाप्न छोडेँ !