• १३ असोज २०८१, आइतबार

सुपारी प्रशोधनमा बढ्दै लगानी

blog

विष्णुप्रसाद पोखरेल

दमक, साउन ५ गते । झापामा सुपारी खेती विस्तार र प्रवद्र्धनका लागि सहयोग हुन थालेपछि सुपारीको उत्पादन बढ्न थालेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा सुपारीको उत्पादन ९ दशमलव २० प्रतिशतले वृद्धि भएको हो । सुपारीको व्यावसायिक खेती गरिरहेका किसानले उचित मूल्य पाउन थालेसँगै सुपारी खेतीमा आकर्षण पनि बढेको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको सुपारी जोन कार्यक्रमको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष झापा जिल्लाको ७८८ हेक्टरमा दुई हजार ७१० मेट्रिक टन सुपारी उत्पादन भएको छ भने अघिल्लो वर्ष एक हजार ५२४ मेट्रिक टन उत्पादन भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत झापामा सुपारी जोन कार्यक्रम लागू भएपछि सुपारी खेती विस्तार र सुपारीको बजारीकरणका लागिसमेत सहयोग गर्दै आएको छ । परियोजना कार्यान्वयन एकाइ भद्रपुरले आव २०७८÷७९ मा सुपारी उप्काउने, काट्ने र आवश्यकताअनुसारको प्याकेजिङ गर्ने मेसिन उपलब्ध गराएपछि सुपारी उत्पादक किसानको उत्साह बढेको पाइएको छ । 

सुपारी प्रशोधन उद्योग स्थापनामा सहयोग पुगोस् भनेर आवश्यक सामग्री, उपकरण अनुदानमा उपलब्ध गराएको परियोजना कार्यान्वयन एकाइका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रवीन्द्र सुवेदीले बताउनुभयो । कृष्ण सुपारी सहकारी संस्था र केदार सुपारी खरिद बिक्री केन्द्रलाई सुपारी बोक्रा उप्काउने मेसिन, सुपारी कटिङ मेसिन, सुपारी प्याकेजिङ मेसिन, सुपारी सुकाउने फलामे चाङ निर्माण, सुपारी बोक्ने एकचक्के ठेला, प्रशोधन घर र सुपारी सुकाउने चट्टाल निर्माणमा सहयोग गरिएकोसमेत सुवेदीले जानकारी दिनुभयो ।

“यसबाट काँचो सुपारी प्रशोधन भई बजारीकरण हुने, सुपारी मूल्य शृङ्खला हुने, सुपारी खेती विस्तार हुने र व्यवसायीकरण हुने अपेक्षा राखेका छौँ,” उहाँले भन्नुभयो । आफूहरूले सहयोग गरेका दुईवटै उद्योगले दैनिक २५÷२५ जनाका दरले जम्मा ५० जनालाई रोजगारी दिइरहेका छन् ।

यसैगरी परियोजनाले सुपारीको पातको दुनाटपरी बनाउने उद्योगलाई समेत सहयोग गरेको छ । यसबाट झरेका पातको उपयोग भई आम्दानी बढ्ने तथा प्लास्टिकका प्लेटको प्रयोगमा कमी आउने र वातावरण प्रदूषण कम गर्न सहयोग पुग्ने परियोजनाका सूचना अधिकारी रविन निरौलाले बताउनुभयो ।

दुईवटा दुनाटपरी उद्योगलाई गत आर्थिक वर्षमा सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । केदार सुपारी खरिद बिक्री केन्द्र मेचीनगरका सञ्चालक केदार निरौलाका अनुसार परियोजनाको यो सहयोगले आफूहरूले परम्परागत रूपमा सुपारी उत्पादन र बिक्री वितरण गर्दै आएकामा अब यसको औद्योगिकीकरणमा ठूलो सहयोग पुगेको छ । “अब धेरै काम मेसिनबाट हुने भएकाले जनशक्तिको अभाव टर्नेछ,” उहाँले भन्नुभयो ।