• २३ फागुन २०८२, शनिबार

मतपेटिका नआइपुग्दा मुगुमा मतगणना सुरु हुन सकेन

blog

मुगुमा प्रतिनिधिसभा सदस्यका लागि पाँच जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी
मुगु, फागुन २३ गते ।
मुगुको एकमात्र निर्वाचन क्षेत्रमा मतगणना अझै सुरु हुन सकेको छैन। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जिल्लाको उत्तरी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका दुई मतदान केन्द्रका मतपेटिका शनिबार बिहान ८ बजेसम्म पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नआइपुगेकाले मतगणना सुरु हुन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लाको माथिल्लो हिमाली भेगमा पर्ने मुगुमा सडक सञ्जाल नजोडिएको तथा भौगोलिक विकटताका कारण त्यहाँका मतदान टोलीले मतपेटिका बोकेर ल्याउनुपर्ने अवस्था रहेकोले मतगणना ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमराज खनियाँले बताउनुभयो। उहाँका अनुसार शनिबार दिउँसो २ बजेसम्म मतपेटिका आइपुगेमा शनिबार बेलुकादेखि मतगणना सुरु गरिनेछ।

मुगुमा ६० दशमलव ९८ प्रतिशत मतदान भएको छ। जिल्लामा कुल ३६ हजार मतदाता रहेका छन्। तीमध्ये महिला मतदाता ११ हजार ५७० र पुरुष मतदाता १० हजार ५०७ गरी २२ हजार ३५२ जनाले मतदान गरेका छन्।