• २३ फागुन २०८२, शनिबार

रौतहटमा रास्वपा तीन र कांग्रेस एक क्षेत्रमा अग्रता

blog

यादवराज पुरी
रौतहट, फागुन २३ गते ।
प्रतिनिधि सभा निर्वाचनको पछिल्लो परिणाम अनुसार रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन क्षेत्रमा अग्रता लिएको छ भने एक क्षेत्रमा नेपाली कांग्रेसको  अग्रता छ । रौतहटको क्षेत्र नम्बर १, ३ र ४ मा रास्वपा अगाडि छ भने क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको अग्रता छ ।  

क्षेत्र नं. १ मतगणनाको पछिल्ला परिणामबाट रास्वपाका उम्मेदवार राजेशकुमार चौधरीले २१ हजार ५८८ मत ल्याई अग्रता कायम गर्नु भएको छ । उहाँलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले आठ हजार ११० मत ल्याउनुभएको छ । यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले छ हजार ९४ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधवकुमार नेपालले पाँच हजार ४७२ मत ल्याई चौथो स्थान हासिल गर्नुभएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो ।

यस्तै, क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार फिरदोश आलमले पाँच हजार ८४५ मत प्राप्त गरी अग्रपङ्तीमा रहनुभएको छ भने नेकपा एमालेका उम्मेदवार किरण साह ९९० मतले पछाडी पर्नु भएको छ । यसैगरी, रास्वपाका उम्मेदवार शेख सगिरले चार हजार ५९८ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत सिताराम खड्काले जानकारी दिनुभयो ।

यता क्षेत्र नम्बर ३ मा रास्वपा का उम्मेदवार रविन्द्र पटेलले चार हजार २९७ मत ल्याई अग्रता कायम गर्नुभएको छ । उहाँलाई जनता समाजवादी पार्टीका उम्मेदवार गोविन्द चौधरीले तीन हजार १४९ मतले पछ्याइ रहनु भएको छ । यसैगरी आम जनता पार्टीका प्रभु साह एक हजार ६३८ मत ल्याई तेस्रो स्थानमा रहनु भएको मुख्य निर्वाचन अधिकृत अबधकिशोर कुश्वाहाले जानकारी दिनुभयो ।

यसैगरी, क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार गणेश पौडैल भारी मतले अगाडि हुनुहुन्छ । उहाँले १८ हजार ११३ मत ल्याउनु भएको छ भने कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाले सात हजार ७११ मत प्राप्त गर्नु भएको छ । तेस्रो स्थानमा नेकपाका उम्मेदवार रामकुमार भट्टराइ हुनुहुन्छ । उहाँले छ हजार ३०५ मत ल्याउनु भएको छ । हालसम्म यस क्षेत्रमा ३७ हजार ९१७ मत सदर भएको भएको मुख्य निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिनुभयो ।