• २३ फागुन २०८२, शनिबार

हस्ताक्षर नभएका मतपत्र भेटिएपछि गोरखामा मतगणना रोकियो

blog

गुणबहादुर रोका
सुलीकोट, फागुन २३ गते ।
गोरखा क्षेत्र नम्बर २ मा मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि मतगणना रोकिएको छ। मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि दलका प्रतिनिधिहरूले आपत्ति जनाउँदै मतगणना प्रक्रिया स्थगित गरिएको हो।

निर्वाचन अधिकृत मोहन बेलबासेका अनुसार केही मतपत्रमा आवश्यक हस्ताक्षर नभेटिएको विषयमा दलका प्रतिनिधिहरूले प्रश्न उठाएका छन्। सोही विषयलाई लिएर नेपाली काँग्रेस र नेकपा (एमाले) का प्रतिनिधिहरूले मतगणनामा धाँधली भएको आशंका व्यक्त गर्दै मतगणनास्थलबाट बाहिरिएका हुन्।

प्रतिनिधिहरू बाहिरिएपछि मतगणना प्रक्रिया रोकिएको निर्वाचन अधिकृत बेलबासेले जानकारी दिनुभयो। उहाँका अनुसार विवादित मतपत्रबारे छलफल भइरहेको छ र आवश्यक प्रमाणीकरणपछि मात्र मतगणना पुनः सुरु गरिनेछ।

निर्वाचन अधिकृतका अनुसार मतगणनालाई पारदर्शी र निष्पक्ष बनाउन सबै दलका प्रतिनिधिहरूको उपस्थितिमा समस्या समाधान गर्ने प्रयास भइरहेको छ। विवाद समाधान भएपछि मात्रै मतगणना प्रक्रिया पुनः सञ्चालन गरिने तयारी गरिएको छ।

यस घटनापछि मतगणनास्थलको सुरक्षा पनि कडा पारिएको छ। सम्बन्धित पक्षबीच सहमति भएपछि मात्र मतगणना पुनः सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।