• १६ चैत २०८२, सोमबार

तनहुँ–१ मा रास्वपाका वाग्ले दोब्बर मतले अगाडि

blog

तनहुँ क्षेत्र नम्बर १ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले

अमरराज नहर्की
तनहुँ, फागुन २३ गते ।
तनहुँ क्षेत्र नम्बर १ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै उत्साहजनक अग्रता कायम गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार डा. वाग्ले जित तर्फ उन्मुख देखिनुभएको हो ।

हालसम्म ५१ हजार ८५७ मत गणना सम्पन्न हुँदा रास्वपाका डा. वाग्लेले २८ हजार ९२५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १२ हजार ५६० मतका साथ दोस्रो स्थान ओगट्नुभएको छ भने नेकपा (एमाले) का उम्मेदवार भगवती न्यौपाने तीन हजार ९०३ मतका साथ तेस्रो स्थानमा रहनुभएको छ । डा. वाग्ले र भट्टराईबिचको मतान्तर १६ हजारभन्दा बढी पुगिसकेको छ, जसले वाग्लेको स्थिति निकै बलियो बनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालका अनुसार जिल्लामा कुल मतदाताको ५१.७४ प्रतिशत मतदान भएको थियो । यस क्षेत्रमा पुरुष ६१ हजार ७७८ र महिला ६५ हजार १०४ गरी कुल एक लाख २६ हजार ८८२ मतदाता रहेका थिए । मतगणनाको यो रफ्तार र मतान्तरलाई हेर्दा डा. वाग्लेको विजय सुनिश्चित जस्तै देखिएको छ ।