• २३ फागुन २०८२, शनिबार

अक्षरदेखि अभिनयसम्मको यात्रामा डा. थापा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २३ गते । काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हाताभित्र कहिले उहाँ कक्षाकोठामा नाटकका सिद्धान्तहरू व्याख्या गरिरहेका भेटिनुहुन्छ, त कहिले रङ्गमञ्चको प्रकाशमुनि कुनै चरित्रमा एकाकार भइरहेका देखिनुहुन्छ । ती पात्र हुनुुहुन्छ, डा. अशोक थापा । नेपाली नाट्य क्षेत्रमा अध्ययन, अनुसन्धान र अभिनयको त्रिवेणी मानिनुहुने थापाको जीवन आफैँमा एउटा जीवन्त नाटक जस्तो लाग्छ, जसमा बाल्यकालको कौतूहल, युवावस्थाको सङ्घर्ष र परिपक्व उमेरको उपलब्धि समेटिएको छ ।

थापाको नाटकसँगको साइनो कुनै थिएटरको रातो पर्दाबाट सुरु भएको होइन ।  पोखराको फाँटमा साथीहरूसँग ‘नेपाल–अङ्ग्रेज युद्ध’ खेल्दा सुरु भएको थियो । विद्यालय जाँदा र फर्किंदा गरिने त्यो बालसुलभ अभिनय नै उहाँको कला यात्राको पहिलो पाठशाला बन्यो । नेवार बस्तीको परिवेशमा हुर्किनुभएका उहाँले लाखेनाच र गाईजात्राका रङलाई नजिकबाट हेर्नुभयो, जसले उहाँको मानसपटलमा लोकसंस्कृतिको गहिरो छाप छोड्यो ।

उच्च शिक्षाका लागि कीर्तिपुर आएपछि उहाँको यात्राले नयाँ मोड लियो । प्राज्ञिक अध्ययन मात्र होइन, उहाँ सडक नाटक र मञ्चीय नाटकमा पनि सव्रिmय हुनुभयो । सहपाठी गणेश गौतमको ‘मुसल पर्व’ पुरु लम्सालको ‘अमर मातृत्व’, ‘पानीघट्ट’ नौगेडी र देउकाशी उहाँका अभिनय रहेका नाटक हुन् । “अब त मेरो रगतमा नाटक सङ्व्रmमण भएको छ,” उहाँ भन्नुहुन्छ, “मेरो जीवनमा यो विधा अब आजीवन रहने छ ।”

डा. थापा नाटकका अध्येता पनि हुनुहुन्छ । उहाँले नाटक विधामै विद्यावारिधि गर्नुभयो । साहित्य लेखनमा पनि जम्नुभएका थापाको कथासङ्ग्रह ‘सन्तापको धुन’ चर्चित कथासङ्ग्रह हो भने थापा पुस्तकालय विज्ञानमा समेत दखल राख्नुहुन्छ ।

धेरै जसो प्राध्यापक सिद्धान्तमा मात्र सीमित हुन्छन् तर अशोक थापा अपवाद हुनुहुन्छ  । उहाँ नाटक मात्रै पढाउनुहुन्न नाटकमा अभिनय पनि गर्नुहुन्छ र नेपथ्यमा बाँच्नुहुन्छ पनि  । उहाँ कहिले समीक्षा लेख्नुहुन्छ, कहिले अनुसन्धानमा घोत्लिनुहुन्छ त कहिले मञ्चमा उत्रिएर दर्शकलाई मन्त्रमुग्ध पार्नुहुन्छ । थापा नेपाली रङ्गमञ्चका लागि एउटा यस्तो पुल बन्नुभएको छ  जसले एकातिर विश्वविद्यालयको प्राज्ञिक संसारलाई जोड्छ भने अर्कोतिर रङ्गमञ्चको श्रम र पसिनालाई । उहाँको यो यात्रा निरन्तर जारी छ, नयाँ अनुसन्धान, नयाँ पात्र र नयाँ नाटकका साथ ।