यदुप्रसाद भट्ट
मनाङ, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी हुनुभएको हो।
मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गर्नुभएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले नौ मत पाउनुभएको छ ।
सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका आज मतगणना स्थलमा ल्याइएपछि मतगणना थालिएको थियो । मनाङमा ५४ दशमलव ८० प्रतिशत मत खसेको थियो । यहाँ कुल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिनुभयो । मनाङ कुल मतदाता सात हजार छन् ।
को हुनुहुन्छ गुरुङ ?
टेकबहादुर गुरुङ मनाङबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका प्रभावशाली नेता र पूर्वमन्त्री हुनुहुन्छ । उहाँले जिल्लाको विकासमा सक्रिय रहेर राजनीतिसँगै पर्यटन र पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ ।
२०७० मा दोस्रो संविधान सभा निर्वाचनमा पनि गुरुङ निर्वाचित हुनुभएको थियो । उहाँ २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का पोल्देन छोपाङ गुरुङसँग २८९ मतले पराजित हुनुभएको थियो । त्यसपछि उहाँ फेरि २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।
नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७० फागुन १३ गतेदेखि २०७२ पुस ९ गतेसम्म श्रम तथा रोजगार राज्यमन्त्रीसमेत बन्नुभएको थियो ।
२०३६ सालमा वीपी कोइरालाबाट नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा प्रवेश गर्नुभएका नेपाली कांग्रेस, मनाङका नेता एवं पूर्वजिल्ला सभापति टेकबहादुर गुरुङले एसएलसीसम्मको शिक्षा आर्जन गर्नुभएको छ । २०११ साल मङ्सिर ११ गते मनाङ ङिस्याङ गाउँपालिका–८, टङ्की मनाङमा उहाँको जन्म भएको हो ।