• १४ असार २०८१, शुक्रबार

पानी पर्खेका किसानलाई वर्षाले राहत

blog

बुधबार वर्षा भएपछि धनगढी गाउँस्थित किसानका खेतमा भरिएको पानी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, साउन ४ गते । रोपाइँ गरेर धानबालीका लागि पानी पर्खेका किसानलाई धेरै राहत भएको छ ।  बुधबार बिहानैदेखि मुसलधारे वर्षा भएपछि कैलालीका किसानलाई राहत महसुस भएको हो । मध्य असारबाट पानी नपर्दा खेतको धान सुक्न थालेको थियो । आली भर्ने गरी पानी परेपछि भने धेरै राहत भएको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका कृषक सन्तराम रानाले बताउनुभयो । 

‘पानी नपर्दा खेतमा धाँजा फाटिसकेको थियो’, उहाँले भन्नुभयो। ‘लामो पर्खाइपछि परेको पानीले धानलाई धेरै राम्रो गरेको छ ।’  कृषक रानाका अनुसार पानी नपर्दा धान सुक्न थालेको थियो । ‘पानी पर्खौं कि अब सुक्न लागेको धानमा सिँचाइ गरौं भन्ने दोधारमा थिएँ’, उहाँले अगाडि थप्नुभयो, ‘जे होस आज पर्यो । अब बोरिङले सिँचाइ गर्नु पर्दैन ।’ 

यसवर्ष नेपालमा मनसुनी वर्षा सरदरभन्दा बढी रहेको पूर्वानुमान भए पनि अहिलेसम्म एकदमै ठूलो वर्षा भने भएको छैन । रोपाइँकै बेला पानीको अभाव झेलेका किसानले धान रोपिसकेपछि पनि त्यहि समस्या झेलिरहेका थिए । चर्को घाम लाग्दा भएको सुख्खाका कारण धान नै सुक्न थालेपछि कतिपय किसाले त धान रोपेको खेतमा बोरिङले सिँचाइ नै गरिसकेका छन् । 

कृषि ज्ञान केन्द्रका अनुसार कैलालीमा यस वर्ष ६९ हजार पाँच सय हेक्टर जमिनमा धान खेती भएको छ । आकाशे पानीको भरमा खेतीपाती गर्ने केही स्थानमा बाहेक प्रायः सबैतिर रोपाइँ सम्पन्न भइसकेको जनाइएको छ । जिल्लाको पहाडी क्षेत्र चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका किसानले ढिलो रोपाइँ गर्ने गरेका छन् । सिँचाइ सुविधा नभएका त्यहाँको किसानले रोपाइँ गर्न आकाशे पानीको भर पर्ने गरेको ज्ञान केन्द्रले जनाएको छ ।  


पानी परेपछि जलमग्न बनेको सडक । तस्बिर : अविनाश चौधरी