• १२ असोज २०८१, शनिबार

कार्यस्थलमा लैङ्गिक हिंसा रोक्ने निर्देशिका मस्यौदा हस्तान्तरण

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ४ गते । सञ्चार क्षेत्रका लागि कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे निर्देशिकाको मस्यौदा तयार भएको छ । सो मस्यौदा बुधबार प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरिएको छ । सञ्चार प्रतिष्ठान र मिडियाको समग्र क्षेत्रको कार्यस्थललाई सुरक्षित गर्न संयन्त्रको आवश्यकता महसुस गरेर प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ र यस क्षेत्रमा कार्यरत सङ्घ संस्था एवम् विज्ञहरूबीच छलफलसहित निर्देशिकाको मस्यौदा तयार पारिएको बताइएको छ ।  

मिडिया एडभोकेसी गु्रप (म्याग), सोलिडारिटी सेन्टर नेपालको संयोजनमा विभिन्न प्रदेशमा भएको अन्तरक्रियाको सहयोगमा तयार गरिएको मस्यौदालाई बुधबार काउन्सिल र महासङ्घलाई बुझाइएको वरिष्ठ पत्रकार वविता बस्नेतले बताउनुभयो ।  

म्यागका निर्देशक समेत रहनुभएका बस्नेतले सो मस्यौदा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत र महासङ्घ अध्यक्ष विपुल पोखरेललाई हस्तान्तरण गर्नुभयो । मस्यौदामाथि दुवै संस्थाबीच थप छलफल र गृहकार्य गरी कार्यान्वयन तहमा लैजाने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । 

यसअघि काउन्सिलका अध्यक्ष बस्नेत, महासङ्घका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महसङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, मिडिया एड्भोकेसी गु्रपका अध्यक्ष अनिता बिन्दु र निर्देशक बस्नेत सहितको निर्देशिका मस्यौदा समिति गठन भएको भयो । 

समितिको तर्फबाट प्रारम्भिक मस्यौदा तयार भई सातै प्रदेशलाई समेट्ने गरी विराटनगर, जनकपुर, चितवन, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छलफल आयोजना गरिएको थियो । प्रदेशस्तरीय छलफलमा आएका सुझावलाई समेत समेटेर काठमाडौंमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सञ्चार सचिव डा. वैकुण्ठ अर्याल, काउन्सिलका अध्यक्ष, महासङ्घका अध्यक्षसहित सञ्चार गृहका व्यवस्थापन तथा सम्पादकीय प्रमुख र यस क्षेत्रका विज्ञसमेतको सहभागितामा राष्ट्रिय तहको छलफल कार्यक्रम गरिएको बस्नेतले बताउनुभयो ।

म्यागका निर्देशक बस्नेतले कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे खुलेर बोल्न र आगामी दिनमा हिंसा रोक्न यो निर्देशिकाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष विपुल पोख्रेलले नेपाली पत्रकारिता जगतमा एउटा महत्वपूर्ण काम भएको भन्दै महासंघले कार्यान्वयनमा लैजाने बताउनुभयो । 

मस्यौदा लेखनको संयोजन समेत गर्नुभएका महासङ्घका पूर्व अध्यक्ष डा.महेन्द्र विष्टले म्याग र सोलिडारीटी सेन्टरलाई धन्यवाद दिँदै मिडिया क्षेत्रमा जो कोहीपनि कार्यस्थलमा सुरक्षित हुनुपर्छ भन्ने ध्येयकासाथ निर्देशिका तयार भएको बताउनुभयो । 

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले छोटो अवधिमा महत्वपूर्ण दस्तावेज तयार भएको बताउनुभयो । निर्देशिकालाई चाँडै अन्तिम रुप दिइने उहाँले जानकारी दिनुभयो ।