• २२ फागुन २०८२, शुक्रबार

धनकुटामा सुरु भयो मतगणना

blog

धनकुटामा मतगणना सुरु, मुख्य निर्वाचन अधिकृतको कार्यालय सामुदायिक भवन । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) फागुन २२ गते ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा पनि मतगणना कार्य सुरु भएको छ । शुक्रबार बिहान ११ः४५ बजेदेखि जिल्लास्थित सामुदायिक भवनमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा मतगणना सुरु भएको हो ।

बिहीबार सम्पन्न निर्वाचनपछि मतपेटिका सङ्कलन राति १२ बजेसम्म सुरक्षित रूपमा मतगणना केन्द्रमा ल्याइएको थियो । शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठकले १० बजेबाट मतगणना सुरु गर्ने निर्णयभए पनि  ११ः४५ बजे मात्रै मतगणना सुरु भएको छ ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना प्रक्रिया पनि व्यवस्थित रूपमा अगाडि बढाइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिनुभयो । धनकुटामा ३ जना स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । धनकुटामा रहेका १ सय १९ मतदान स्थलमा रहेका १ सय ६६ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको थियो ।

धनकुटामा रहेका १ लाख १८ हजार ४ सय २५ मतदातामा ५४ दशमलव ४५ प्रतिशत मात्र मत खसेको थियो । अर्थात् ६४ हजार ४ सय ९० जनाले मतदान गरेका हुन् । धनकुटामा ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता रहेकोमा ३२ हजार १ सय ५६ पुरुष र ३२ हजार ३ सय ३४ महिला मात्रै मतदानमा सहभागी भएका थिए ।