• २२ फागुन २०८२, शुक्रबार

गुल्मीमा मतगणना सुरु

blog

रमेश विश्वकर्मा 
गुल्मी, फागुन २२ गते।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना गुल्मीमा आज (शुक्रबार) सुरु भएको छ।आज बिहान ११ः१५ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन क्षेत्र क्षेत्र नम्बर–१ को मतगणना जिल्ला समन्वय समितिको हल र क्षेत्र नम्बर–२ को मतगणना रेसुङ्गा बहुमुखी क्याम्पसको हलमा सुरु भएको हो।

मतगणना स्थलमा जाली, सिसिटिभि, क्यामेरालगायतका सुरक्षा प्रबन्धहरु मिलाइएको छ। तीन वटा टोलीबाट मतगणना गरिएको छ। मतगणना गर्ने प्रत्येक टोलीमा एक उम्मेदवारको तर्फबाट १ जनाका दरले मतगणनामा प्रतिनिधि रहनुभएको छ। यस जिल्लामा ५१.३६ प्रतिशत मत खसेको छ। ६४ हजार ८९७ जना महिला, ५३ हजार दुई जना पुरुष र दुई जना अन्य गरी एक लाख १७ हजार ९०१ जनाले मतदान गर्नुभएको थियो। निर्वाचन क्षेत्र नम्बर–१ मा ३६ हजार २८ जना महिला र २८ हजार ७५९ जना पुरुष गरी जम्मा ६४ हजार ७८७ जनाले मतदान गर्नुभयो।

यस क्षेत्रमा एक लाख २२ हजार १८६ जना मतदाता रहनुभएको थियो। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर–२ मा २८ हजार ८६९ जना महिला, २४ हजार २४३ जना पुरुष र दुई जना अन्य गरी जम्मा ५३ हजार ११४ जनाले मतदान गर्नुभयो। यस क्षेत्रमा एक लाख ७ हजार ३६३ जना मतदाता रहनुभएको थियो। राजनीतिक दल र स्वतन्त्र गरी यस जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ४३ जनाले उम्मेदवारी दिनुभएको थियो।

क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी, नेकपा (एमाले)का प्रदीप कुमार ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका सूदर्शन बराल र राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाललगायतका उम्मेदवार हुनुहुन्छ। क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, नेकपा (एमाले)का गोकर्णराज विष्ट, नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महत र राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थीलगायतका उम्मेदवार हुनुहुन्छ।