• १४ असार २०८१, शुक्रबार

गोरखापत्रसँग सहकार्य गर्छौं : मन्त्री घिमिरे

blog

संस्थानको विराटनगरस्थित प्रादेशिक कार्यालय निरीक्षणपछि आयोजित कार्यक्रममा सहभागी हुनुहुँदै यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे। तस्बिर : शशिधर पराजुली

विराटनगर समाचारदाता

विराटनगर, साउन ४ गते। प्रदेश सरकारका यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले गोरखापत्र संस्थानसँग सहकार्य गर्ने बताउनुभएको छ। विराटनगरस्थित गोरखापत्र दैनिकको प्रादेशिक कार्यालयको बुधबार निरीक्षण गरेर मन्त्री घिमिरेले संघीय सरकार अन्तरगत रहेका प्रादेशिक कार्यालयसँग प्रदेश सरकारले समन्वय र सहकार्य गर्दै जाने नीति लिएको बताउनुभएको हो। 

गोरखापत्र दैनिकले सुशासन स्थापनाका लागि जोड दिएर समाचार प्रकाशन गर्नेतर्फ ध्यान दिनुपर्ने भन्दै मन्त्री घिमिरेले प्रदेश सरकार सबै प्रकारको सहकार्य गर्न सकारात्मक रहेको बताउनुभयो। 

प्रदेश सरकारले नियमित प्रकाशन गर्दै आएको राजपत्र, कानुनका पुस्तक तथा अन्य सामग्री गोरखापत्रको प्रेसमा छाप्न सकिने विषय अनुगमनका क्रममा मात्र जानकारी पाएको उहाँले बताउनुभयो। मन्त्री घिमिरेले सरकारले सरकारी संस्थानबाटै प्रकाशन गर्नु उचित हुनसक्ने भएकोले यस विषयमा मन्त्रिपरिषद्को बैठकमा छलफल गर्ने आश्वासन दिनुभएको छ। 

उहाँले प्रेस सञ्चालनका लागि संस्थानलाई आवश्यक पर्ने जेनेरेटर लगायतका उपकरणमा पनि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ। अनुगमनपछि आयोजित संक्षिप्त कार्यक्रममा संस्थानका सञ्चालक समिति सदस्य तथा समाचार संयोजक सचिन पोखरेलले गोरखापत्र दैनिकको प्रेसलाई प्रदेश सरकारले उपयोग गरेर लाभ लिनसक्ने बताउनुभयो। 

त्यस क्रममा गोरखापत्र संस्थानका प्रादेशिक कार्यालय प्रमुख राजकुमार गुरुङले प्रदेश १ मा गोरखापत्र दैनिकका पाठक बढ्दै गएको जानकारी गराउनुभएको थियो। उहाँले कार्यालयको वर्तमान अवस्था र समस्याका बारेमा जानकारी गराउनुभएको छ।