• २२ फागुन २०८२, शुक्रबार

धनुषा–३ मा मतगणना जारी, तीन क्षेत्रमा सुरु हुन सकेन

blog

विजयकुमार साह 
ढल्केबर, फागुन २२ गते ।
धनुषाका चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म निर्वाचन क्षेत्र नम्बर ३ मा मात्र मतगणना सुरु भएको छ भने अन्य तीन क्षेत्रमा गणना सुरु हुन सकेको छैन ।

निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा मतगणना अझै सुरु नभएको हो । ती क्षेत्रहरूमा सर्वदलीय बैठकपछि मात्र मतगणना सुरु गरिने जनाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले मतगणना हुन बाँकी रहेको स्थानमा सर्वदलीय बैठक भइरहेकाले छिट्टै सुरु हुने बताउनुभयो ।

यसबिच धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार मनिष झा अग्रस्थानमा रहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झाले हालसम्म ५ हजार २७८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार बिमलेन्द्र निधिले १ हजार ९२९ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार जुली महतोले ९९७ मत प्राप्त गर्नुभएको छ ।