लक्ष्मण पौडेल
भैरहवा, फागुन २२ गते । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना जारी छ । प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता लिनुभएको छ ।
बुटवल उपमहानगरपालिका–१ र तिलोत्तमा नगरपालिका–१ को मतगणना सम्पन्न हुँदा हालसम्म पाँच हजार ९४२ मत गणना भएको छ । प्राप्त मतपरिणामअनुसार घण्टी चुनाव चिह्नबाट उम्मेदवार बन्नुभएका खरेलले चार हजार ७२ मत प्राप्त गर्दै पहिलो स्थानमा हुनुहुन्छ ।
नेकपा (एमाले)का उम्मेदवार तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले ८५४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्माले ५०४ मत पाउनुभएको छ । त्यसैगरी नेकपा उम्मेदवार तारा चुनाव चिन्हका विश्वदीप पाण्डेले ४३ मत प्राप्त गर्नुभएको छ । रुपन्देही क्षेत्र नम्बर २ मा कुल ८६ हजार ७१५ मत खसेको थियो ।
यसैगरी, रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापाले प्रारम्भिक मतगणनामा अग्रता बनाउनुभएको छ । हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार थापाले एक हजार ३७७ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले २४९ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौरव बोहराले २४८ मत पाउनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार बासुदेव घिमिरेले १९२ मत प्राप्त गर्नुभएको छ । रुपन्देही क्षेत्र नम्बर ३ मा कुल ९७ हजार ३८३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर ४ मा एमालेका प्रमोद यादव दुईहजार ६९८ मतका साथ अगाडि हुनुहुन्छ भने कांग्रेसका आशुतोष मिश्रले दुईहजार २४७ र रास्वपाका कन्हैयालाल बानियाले १८ सय ३० मत पाउनुभएको छ ।