राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), फागुन २२ गते । स्याङ्जा–२ मा बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणमा सुरु हुन सकेको छैन । गएराति सर्वदलिय बैठक बसेको भए पनि आयोगको निर्णय, निर्देशन पर्खने र मतगणना गर्ने सहमति भएको थियो ।
वालिङ नगरपालिका–१० बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि बिहीबार केही समय मतदान रोकिएको थियोे । मतदान केन्द्रमा सर्वपक्षीय सहमति गरेर मतदान सञ्चालन गरेपनि केही प्राविधिक र कानुनी समस्यालाई मध्यनजर गर्दै निर्वाचन कार्यलयले आयोगको निर्णयको पर्खाइमा रहेको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृतको कार्यलयले आयोगको आधिकारिक पत्र आएपछि मात्रै स्याङ्जा २ को मतगणना सुरु गर्ने तयारी गरेको छ ।
बिहीबार भएको मतदानमा १७१ मत खसिसकेको अवस्थामा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको थियो । केही मतपत्रमा हस्ताक्षर छुटेको पाइएको पौडेलको भनाइ छ । हस्ताक्षर नभएको मतपत्र पेटिकामा खसेको अवस्थामा के गर्ने भन्ने सहमति पश्चात गणना सुरु हुने वताइएको छ ।