हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन २२ गते । एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका योगेश गौचन थकालीले सुरूआती अग्रता लिनुभएको छ ।
बिहीबार मध्यरातमा मतपेटिका सङ्कलन भएसँगै सर्वदलिय बैठक बसेर सुरु भएको मतगणनामा हालसम्मको उपल्लो र तल्लो मुस्ताङको मतपेटिका राखेर १२ सय ६९ मत गणना गर्दा गौचनले ६ सय ८७ मत प्राप्त गरी अग्रता लिएका छन् भने नेकपा एमालेका इन्द्रधारा विष्ट ३ सय ५५ पाएर दोस्रो स्थानमा छन् ।
राष्ट्रि«य स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकालीले १ सय १७ मत, उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचन ४३ मत, नेपाली कम्युनिष्ट पार्टीबाट ङुटुक गुरूङले २८ मत रहेको छ ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचनले १३ मत, आम जनता पार्टीबाट अजय विक नौ मत ल्याउँदै गर्दा १७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जनाएको छ ।
एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा कुल ११ हजार तीन सय २८ मतदाता रहेकोमा मुस्ताङमा ५६.४७ प्रतिशत अर्थात कुल ६ हजार ३ सय ९७ मत खसेको थियो ।