• १६ चैत २०८२, सोमबार

ताप्लेजुङमा १२३ केन्द्रको मतपेटिका सङ्कलन, चार वटाको अन्योल

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका बुझाउँदै कर्मचारीको टोली । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, फागुन २२ गते ।
ताप्लेजुङमा एक सय २३ वटा मतदान केन्द्रको मतपेटिका सङ्कलन भइसकेको छ । एक सय २७ वटा मतदान केन्द्र रहेको ताप्लेजुङका एक सय २३ वटा मतदान केन्द्रको मतपेटिका सङ्कलन भइसकेको छ ।  

मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठका अनुसार शुक्रबार बिहान करिब ३ बजेसम्म चार वटा केन्द्रका बाहेक सबै ठाउँका मतपेटिका आइसकेको हो । उहाँका अनुसार जिल्लाको उच्च हिमाली बस्तीका चार स्थानका मतपेटिका सङ्कलन हुन बाँकी रहेको छ ।

फक्ताङलुङ गाउँपालिकाका ६ नम्बर वडा घुन्सा आधारभुत विद्यालय र ग्याब्ला प्रावि तथा ७ नम्बर वडाको ओलाङचुङगोला र जिल्लाको सबैभन्दा उच्च हिमाली बस्ती याङमा आधारभुत विद्यालयको मतपेटिका सङ्कलन हुन बाँकी रहेको छ । ती चार वटा स्थान यातायातको पहुँचदेखि टाढा रहेकोले मतपेटिका सङ्कलनमा ढिलाइ भएको हो । चार स्थानका मतपेटिका सङ्कलनको लागि हेलिकोप्टर हिजो नै ताप्लेजुङ आइसकेको छ ।

आजै साँझ पाँच बजेपछि हेलिकोप्टर प्रस्थान गर्ने तयारी गरेपनि अकस्मात मौसममा आएको परिवर्तनका कारण सम्भव हुन नसकेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले बिहान हेलिकोप्टर मतपेटिका ढुवानीका लागि प्रस्थान गर्ने तयारी भइरहेको छ । ती चार वटा स्थानको मतपेटिका हेलिकोप्टरबाट सम्भव नभए बोकेर ल्याउन करिब दुई दिन लाग्ने बताइएको छ ।

सबै ठाउँको मतपेटिका सङ्कलन भइसकेपछि मात्र सर्वदलीय बैठक बसेर मतगणनाको कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ ।