• १३ असार २०८१, बिहिबार

नेप्से परिसूचक ४.८९ अङ्कले वृद्धि

blog

काठमाडौं, साउन ४ गते । पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचक बुधबार पनि सामान्य अङ्कले वृद्धि भएको छ ।

नेप्से परिसूचक ४.८९ अङ्क बढेर २०५०.५९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.९७ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.०६ अङ्क र सेन्सेटिभ इण्डेक्स ०.०१ अङ्कले बढेको छ ।

कारोबारमा आएमा २१५ कम्पनीको ४१ लाख ३३ हजार कित्ता शेयर एक अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ ।

बुधबार नेप्से परिसूचक झिनो अङ्कले बढेपनि कारोबार रकम भने गिरावट भएको छ । मङ्गलबार दुई अर्ब २९ करोडको शेयर कारोबार भएको थियो ।

आज नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी र अन्य उपसमूहको परिसूचक बढेको छ भने बाँकी अन्य उपसमूहको परिसूचक घटेका छन् ।

नेप्से झिनो अङ्कले बढ्दा मल्टीपर्पस फाइनान्सको शेयर मूल्य ५.६९ प्रतिशत बढेको छ । कर्णाली डेभलपमेण्ट बैंकको शेयर मूल्य ४.३५ प्रतिशत बढेको छ । तर, लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य ६.३३ प्रतिशत घटेको छ भने इमर्जिङ्ग नेपालको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ । बुधवार शिवम सिमेन्ट्स कम्पनीको १६ करोड ४२ लाख ५९ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।