• २२ फागुन २०८२, शुक्रबार

मतपेटिका सङ्कलन जारी, सल्यानमा भोलिदेखि मतगणना हुने

blog

मत पत्र ढुवानी गर्दै । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सल्यानमा खसेका मतको गणना भोलिदेखि मात्र सुरु हुने भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा सदरमुकाम खलङ्गामा ल्याएपछि सर्वदलीय बैठक बसेर भोलि बिहानदेखि मतगणना सुरु गर्ने तयारी गरिएको हो।

मतदान सम्पन्न भएपछि हाल मतपेटिका सङ्कलन तथा व्यवस्थापनको काम भइरहेको छ। सबै प्रक्रिया पूरा भएपछि मात्रै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीले जानकारी दिनुभयो।

जिल्ला समन्वय समिति सल्यानको सभाहलमा मतगणनास्थल तोकिएको छ। मतगणनास्थलमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको र आवश्यक तयारी पूरा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

टाढा रहेका कालिमाटी गाउँपालिका–६ हात्तिढुंगा, कालिमाटी गाउँपालिका–७ रयाङ, दार्मा गाउँपालिका तथा वनगाड कुपिण्डे नगरपालिका भित्रका मतदान केन्द्रबाट मतपेटिका ल्याउन केही समय लाग्ने जनाइएको छ।

प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार सम्पन्न मतदानमा सल्यानमा करिब ५२ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार जिल्लाका कुल १ लाख ६२ हजार ४४९ मतदातामध्ये प्रारम्भिक विवरणअनुसार ८४ हजार ४३० जनाले मतदान गरेका छन्। तीमध्ये ३७ हजार ३०२ पुरुष र ४८ हजार १२८ महिला मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

जिल्लामा मतदानका लागि १ सय १७ मतदान स्थल र २ सय ५ मतदान केन्द्र निर्धारण गरिएको थियो। प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाको विशेष व्यवस्था गरिएको थियो। नेपाली सेना र सशस्त्र प्रहरी बलका टोली १३ स्थानमा खटिएका थिए भने १ हजार ४०६ जना म्यादी प्रहरीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको उल्लेख्य संख्यामा परिचालन गरिएको थियो।

जिल्लामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले जानकारी दिनुभएको छ।