• २१ फागुन २०८२, बिहिबार

मतदान कार्य सफलतापूर्वक सम्पन्न भएकोमा गृहमन्त्रीद्वारा धन्यवाद ज्ञापन

blog

गृहमन्त्री ओमप्रकाश अर्याल

काठमाडौँ, फागुन २१ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिनुभएको छ । 

गृहमन्त्री अर्यालले राष्ट्रपतिको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान कार्य सम्पन्न भएको भन्दै प्रधानमन्त्रीको अभिलाषा बमोजिम “एक थोपा पनि रगत नबगी“ निर्वाचन गर्ने कार्य सम्पन्न भएको उल्लेख गर्नुभएको छ । 

लोकतान्त्रिक प्रकृयाको महत्वपूर्ण अभ्यासको रूपमा रहेको निर्वाचन मार्फत जनादेश लिनु संवैधानिक र कानूनी दृष्टिले सर्वोत्तम पक्ष हो भन्दै गृहमन्त्री अर्यालले यस निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन एवम् नेपाली जनताले प्राप्त गरेको हक अधिकारको संस्थागत गर्नमा महत्वपूर्ण उपलब्धी हासिल भएको बताउनुभयो । 

मन्त्री अर्यालले निर्वाचन प्रक्रियामा संलग्न आम नेपाली नागरिक, सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिक दलका नेता तथा कार्यकर्ता,  निर्वाचनमा संलग्न निजामती कर्मचारी,  सुरक्षाकर्मी,  सञ्‍चारकर्मी,  राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षक र प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सहयोग एवं योगदान गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । उहाँले निर्वाचनको मतदान पश्चात मतगणनाको कार्यमा समेत सकारात्मक भूमिका र सहयोगका निमित्त सम्बन्धित सबैमा अनुरोध गर्नुभएको छ ।

गृहमन्त्री अर्यालले निर्वाचन लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न देशव्यापी रूपमा मतदाताहरूले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता अभिव्यक्त भएको भन्दै मतदानमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुवा, दिदी–बहिनी, दाजुभाईहरूप्रति उच्च सम्मान सहित धन्यवाद व्यक्त गर्नुभएको छ ।