गङ्गाकुमारी मिजार
रसुवा, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको मतदानमा हिमाली जिल्ला रसुवामा ६१.३९ प्रतिशत मत खसेको छ। एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ४२ हजार ४ सय ७१ मतदातामध्ये २५ हजार ४ सय ५८ जनाले मतदान गरेका हुन्। जसमध्ये ११ हजार ९ सय ५४ महिला र १३ हजार ४ सय ७३ पुरुष रहेका छन्।
निर्वाचन कार्यालय रसुवाका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचन सम्पन्न भएपश्चात् मतपेटिका सङ्कलनको काम धमाधम भइरहेको छ। दुर्गम तथा टाढा रहेको गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङस्थित सामुदायिक भवन मुण्डु मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत सदरमुकाम धुन्चे ल्याइएको छ। अहिलेसम्म ४ वटा मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको सहायक निर्वाचन अधिकृत सरिता रिजालले जानकारी दिनुभयो।
भोलि बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेपश्चात् मतगणना सुरु गरिने बताइएको छ। मतगणनाका लागि जिल्ला अदालतको भवनलाई स्थल तोकिएको छ। मतगणना स्थल वरिपरि करिब १० मिटर अग्लो तारजालीको सुरक्षा घेरा तयार गरिएको छ।