• १४ असार २०८१, शुक्रबार

वर्षा नहुँदा २० प्रतिशत धान सुक्ने खतरा

blog

महेशकुमार दास
जलेश्वर, साउन ४ गते ।
वर्षा नहुँदा महोत्तरीमा रोपिएका २० प्रतिशत धान सुक्ने खतरा छ । वर्षको भरमा महोत्तरीको अधिकांश भूभागमा धान खेती गरिएको छ । तर अझै केही दिन वर्षा नभए रोपाइँ भएकामध्ये २० प्रतिशत धान सुकेर नष्ट हुने कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।

कृषि ज्ञानन केन्द्रका प्रमुख डा. रामचन्द्र यादवले महोत्तरीमा धानखेती हुने ४६ हजार पाँच सय हेक्टरमध्ये असार समान्तसम्म ४५ प्रतिशत रोपाइँ भएको बताउनुभयो । ‘‘लामो समयसम्म वर्षा नहुँदा रोपाइँ भएका खेतमा धाँजा फाट्न थालेका छन् भने धान सुक्ने खतरा बढेको छ ।,’’ प्रमुख यादवले भन्नुभयो ।

जिल्लामा धान खेती हुने क्षेत्रफलमध्ये गत वर्ष असार मसान्तसम्ममा ७५ प्रतिशत रोपाइँ पूरा भइसकेको थियो । तर यस वर्ष समयमै वर्षा नहुँदा ४५ प्रतिशतमात्र धान रोपाइँ भएको उहाँले बताउनुभयो । “समयमै वर्षा नहुँदा असारसम्म गत वर्षको तुलनामा ३० प्रतिशतले रोपाइँमा कमी आएको छ ।” यादवले भन्नुभयो ।

समयमै वर्षा नहुँदा यस वर्ष महोत्तरीमा धान उत्पादनमा ह्रास आउने उहाँको भनाइ छ । गत वर्ष तीन मेट्रिक टन प्रति हेक्टर धान उत्पादन भएको थियो । तर, यस वर्ष भने कमी आउने सङ्केत देखिएको छ ।  ‘‘यस वर्ष ३.५ मेट्रिक टन प्रति हेक्टर धान उत्पादन हुने लक्ष्य लिएका थियौं । तर यस्तै अवस्था रहे लक्ष्य अनुसार धान उत्पादन हुन कठिन छ ।’’ उहाँले भन्नुभयो ।

महोत्तरीमा ६६ हजार हेक्टर खेती योग्य जमिन छ । जसमध्ये ४६ हजार पाँच सय हेक्टरमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

तीन वर्ष अघिसम्म ६८ हजार हेक्टर खेतीयोग्य जग्गा महोत्तरीमा थियो । त्यसमा पनि कमी आएको छ । जग्गाहरुको प्लटिङ गरी बस्तीहरु विस्तार हुन थालेपछि खेती योग्य जग्गामा समेत कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

महोत्तरीमा २० हजार हेक्टर खेतीयोग्य जमिन पूर्ण सिंचित छ भने ४४ हजार हेक्टर जमिन अर्ध सिंचित छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार समग्रमा महोत्तरीमा खेतीयोग्य जग्गामध्ये ३० प्रतिशत जग्गा मात्र सिंचित छ । तर मन्त्रालयको तथ्याङ्कमा महोत्तरीमा ८० प्रतिशत खेतीयोग्य जग्गा सिंचित रहेको देखाइएको छ । जुन महोत्तरीको वास्तिकताभन्दा फरक रहेको प्रमुख यादवले बताउनुभयो ।