• २१ फागुन २०८२, बिहिबार

पूर्वप्रधानमन्त्रीसहित तीन पूर्वमन्त्रीद्वारा मतदान

blog

सञ्जयकुमार मिश्र

गौर, फागुन २१ गते । प्रतिनिधिसभाको बिहीबार सम्पन्न निर्वाचनमा रौतहट जिल्लामा उम्मेदवारी दिनुभएका पूर्वप्रधानमन्त्रीसहित तीन जना पूर्वमन्त्रीले मतदान गर्नुभएको छ ।

रौतहट क्षेत्र नं १ का उम्मेदवार एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री अनिलकुमार झा तथा क्षेत्र नं ३ का उम्मेदवार एवं पूर्वमन्त्री प्रभु साहले मतदान गर्नुभएको हो ।

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं उम्मेदवार माधवकुमार नेपालले रौतहट क्षेत्र नम्बर १ को गौर नगरपालिका–२ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

आम जनता पार्टीका अध्यक्ष एवं रौतहट क्षेत्र नम्बर ३ का उम्मेदवार प्रभु साहले मौलापुर–५ स्थित मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो । यस्तै नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार अनिलकुमार झाले दुर्गा भगवती गाउँपालिका–३ मत्सरीस्थित संस्कृत माध्यमिक विद्यालय मतदान केन्द्रमा आज बिहानै उपस्थित भएर मतदान गर्नुभएको छ ।

यसै गरी रौतहट जिल्लामा आज प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण एवं उत्साहका साथ सम्पन्न भएको छ । शान्तिपूर्ण निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना तथा म्यादी प्रहरीसहित करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो । संयुक्त सुरक्षा टोलीले जिल्लाभर गस्ती तथा पट्रोलिङलाई समेत तीव्र पारेको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रजिअ भुसालले जानकारी दिनुभयो ।