हुम्ला, फागुन २१ गते । बिहीबार बिहानदेखि सुरु भएको मतदान कार्य दिउँसो १ बजेसम्म ४४ प्रतिशत सम्पन्न भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा गरी सो मतदान कार्य सम्पन्न भएको हो ।
हालसम्म कुल मतदाताको ४४.७६ प्रतिशत मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताउनुभयो । यसमा १५ हजार ३ सय ८७ मतदाताले मतदान कार्यमा सहभागिता जनाएको उहाँको भनाइ छ । जसमा पुरुष मतदाता सङ्ख्या ७ हजार ९ सय ५१ र महिला मतदाता सङ्ख्या ७ हजार ४ सय ३६ रहेको छ ।
हाल सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो । सुरुमा एक–दुई मतदान केन्द्रमा सामान्य विवाद भए पनि अधिकांश मतदान केन्द्रमा समयमै मतदान कार्य सुरु भएको थियो । उत्तरी नाम्खा गाउँपालिका–४ को हिमालय आवि मतदान केन्द्रमा भने मतदाता ढिलो आएका कारण १० बजेबाट मात्र मतदान कार्य सुरु भएको थियो । सो मतदान केन्द्रमा १५९ मतदाता रहेका छन् ।
जिल्लामा कुल ३४ हजार ३ सय ७२ मतदाता रहेका छन् । जसमा १८ हजार २१ पुरुष र १६ हजार ३ सय ५१ महिला मतदाता रहेका छन् । हुम्ला जिल्लामा ६९ वटा मतदान स्थल र ७४ वटा मतदान केन्द्रहरू रहेका छन् ।