प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), फागुन २१ गते । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष बनाउन रौतहटमा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराइएको छ । जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना खासै नरहेको कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटका प्रमुखसमेत रहनुभएका आचारसंहिता अनुगमन अधिकृत देवीप्रसाद गौतमले बताउनुभयो । जिल्लास्तरीय निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुगमन अधिकृत गौतमले राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचारसंहिता पालना गराउन समिति सव्रिmय भएर काम गरेको जानकारी दिनुभयो । मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउन लगाइएको उहाँले जानकारी दिनुभयो ।
कुनै पनि विधि वा माध्यमबाट मत माग्ने कार्य हुन नदिन अनुगमन समिति सव्रिmय भएर खटिएको बताउँदै अनुगमन अधिकृत गौतमले निर्वाचन आचारसंहिता कागजमा मात्र नभई व्यवहारमा कार्यान्वयनको अवस्था बलियो रहेको बताउनुभयो ।
मौन अवधिमा भोजभतेरदेखि लिएर मतदातालाई विभिन्न प्रलोभनमा पार्ने काम हुने सम्भावना रहेकोले त्यस्तो हुन नदिन सुरक्षा निकायको सहकार्यमा रौतहटका चार वटै निर्वाचन क्षेत्रमा कडाइ गरिएको उहाँले जानकारी दिनुभयो ।
मतदान केन्द्र निर्माणमा आइपर्ने समस्या, मतदानको समयमा मुस्लिम महिलाले बुर्का लाउने नलाउनेलगायतका समस्या समाधानका लागि मङ्गलबार र बुधबार मतदान स्थलको अनुगमन तीव्र पारिएको अनुगमन अधिकृत गौतमले जानकारी दिनुभयो ।
जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका अन्य विषयमा र कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
यससँगै जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको छ । स्थानीय सुरक्षा कमान्डरलाई समन्वय गरी कार्यसम्पादन गर्न क्षेत्र नं. १ मा प्रमुख मालपोत अधिकृत छविलाल नेपाली, हुलाक अधिकृत देवनाथ यादव र पशु चिकित्सक इन्दुराय यादव खटाइएको छ । त्यसै गरी क्षेत्र नं. २ मा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादव र कोष नियन्त्रक देवीप्रसाद गौतमलाई खटाइएको छ ।
निर्वाचन क्षेत्र नं. ३ मा डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साह र शिक्षालय प्रमुख रवीन्द्र आचार्य तथा निर्वाचन क्षेत्र नं. ४ मा सिनियर डिभिजनल इन्जिनियर दीपककुमार मिश्र र प्रमुख भन्सार अधिकृत विकास रजकलाई खटाइएको छ ।
मतगणना स्थलमा तारजाली र सिसी क्यामरा
यसैबिच रौतहटका चार वटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणना स्थल तयार पारिएको छ । मतगणनाका लागि सिसी क्यामरा, तारजालीसहित लाइट, साउन्डको व्यवस्थासहित मतगणना स्थल तयार पारिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
बिहीबार हुने निर्वाचनको मतगणनाका लागि निर्वाचन क्षेत्र नं. १ का लागि जुद्ध माध्यमिक विद्यालय, क्षेत्र नं. २ का लागि ब्रह्मज्योति माध्यमिक विद्यालय लौकाहा, क्षेत्र नं. ३ का लागि जनता माध्यमिक विद्यालय कटहरिया र क्षेत्र नं. ४ का लागि जनज्योति बहुमुखी क्याम्पसमा मतगणना स्थल तयार गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभएको छ ।
मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित बनाउनका लागि मतगणना स्थललाई तारजालीले बार्नुका साथै सिसी क्यामरा जडान गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ चन्द्रनिगाहपुरका निर्वाचन अधिकृत उद्धव ढोडारीले बताउनुभयो । उहाँका अनुसार तारजालीभित्र मतगणक कर्मचारी बस्ने र तारजालीको बार बाहिरबाट उम्मेदवारका प्रतिनिधिले हेर्ने व्यवस्था मिलाइएको छ ।