• १६ चैत २०८०, शुक्रबार

बिरामीको चाप बढ्दा टीकापुर अस्पतालमा शय्या अभाव

blog

टीकापुर, साउन ४ गते । कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो । यसअघि प्रसूति र हाडजोर्नीसम्बन्धी शल्यक्रिया गरिँदै आएकामा अस्पतालले एक हप्तादेखि आफ्नो सेवा विस्तार गरेको छ । टीकापुर अस्पतालबाट अब हाइड्रोसिल, हर्निया, पत्थरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत र पानी भरिएका बिरामीको  शल्यक्रिया सेवा थालेको छ । 

शल्यक्रिया सेवा पाउन थालेपछि बिरामीको चाप बढेको छ । शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने भएको छ । शय्या अभावपछि बिरामीले पालो पर्खिनुपर्छ । जोशीपुरकी सरस्वती श्रेष्ठ बुवाको हाइड्रोसिलको शल्यक्रियाका लागि पालो कुर्नुपरेको बताउनुहुन्छ । “ शल्यक्रियाका लागि निकै कुर्नुपर्छ, शल्यक्रियापछि शय्या पाउन झन मुश्किल हुने गरेको छ”, उहाँले भन्नुभयो । 

चाप बढेपछि बिरामीको अवस्था हेरेर अस्पतालले घर पठाउने र शय्या उपलब्ध गराउन थालेको छ । अस्पतालसँग भौतिक सुविधा अभाव हुँदा बिरामीका कुरुवाले अस्पताल प्रशासनसँग आक्रोश पोख्ने गरेका छन् ।  अस्पताल ५१ शय्याको मात्र भए पनि अस्पतालले थप शय्या थपेर सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपड सोडारी बताउनुहुन्छ । “५१ शय्याले धान्न मुस्किल छ । दैनिक ४० देखि ५० बिरामी भर्ना हुन्छन्, नियमित शल्यक्रिया सेवापछि शय्याको अभाव भएको हो”, उहाँले भन्नुभयो । 

टीकापुर अस्पतालमा शल्यक्रिया सेवा पाएपछि यहाँका बिरामीलाई धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ । अस्पतालमा कैलालीको टीकापुरसहित जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दियाको राजापुर नगरपालिकाका बिरामी बढिजसो उपचार गर्न आउने गरेका छन् । स्वास्थ्य बीमामार्फत सेवा लिनेसमेत बढेको अस्पतालले जनाएको छ ।