• २० फागुन २०८२, बुधबार

दाङमा निर्वाचनको तयारी पूरा, चार लाख बढी मतदाता

blog

घोराही उपहानगरपालिका–१४ बालमन्दिर आधारभूत विद्यालयमा निर्माण गरिएको मतदान केन्द्र । तस्बिर : लीलाधर वली

लीलाधर वली  

घोराही, फागुन २० गते । फागुन २१ गते विहीवार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा सबै तयारी पूरा भएको छ । निर्वाचनका लागि कर्मचारी, सुरक्षाकर्मी परिचालनदेखि मतदान केन्द्र निर्माणलगायतको सम्पूर्ण तयारी तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको हो । 

तीन निर्वाचन क्षेत्र रहेको दाङका ४ सय ८२ वटा मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन, निर्वाचन सामग्री पुर्‍याउने, मतदान केन्द्रको व्यवस्थापनसँगै मतगणनास्थल निर्माण लगायतका सबै तयारी पूरा भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिनुभएको छ । 

विहीवार (भोली) विहान ७ बजेदेखि मतदानका लागि जिल्लाका ४ सय ८२ वटै मतदान केन्द्रमा तारवार गर्नेदेखि डेक्स टेवल राख्ने, मतदाता सूची सार्वजनिक गर्नेलगायतको काम सकिएको सूचना अधिकारी कवँरले जानकारी दिनुभएको छ । जिल्लामा चार लाख ३१ हजार ६८६ मतदाता रहेका छन् । जसमा दुई लाख १३ हजार ३८० पुरुष र दुई लाख १८ हजार ३०३ महिला र तीन जना अन्य मतदाता रहेका छन् ।   

जिल्लाका प्रत्येक मतदान केन्द्रमा ६ जना कर्मचारीका दरले दुई हजार आठ सय ९२ जना, घोराही र तुलसीपुरमा रहेका दुई कारागारमा रहेका अस्थायी मतदान केन्द्र तीन÷तीन जनाका दरले छ जना गरेर जम्मा जिल्लामा दुई हजार आठ सय ९८ जना  कर्मचारी निर्वाचनमा  खटिएका छन् ।  

 निर्वाचन आयोगका अनुसार जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रमा विभिन्न पार्टीसँगै स्वतन्त्र उम्मेदवार गरेर ६० जना चुनावी मैदानमा छन् । जसमध्ये सात बढीले आफ्नो उम्मेदवारीलाई निष्कृय बनाउँदै अन्य उम्मेदवारलाई समर्थन गरेको घोषणा गरेका छन् । 

प्रमुख जिल्ला अधिकारीका विश्वप्रकाश अर्यालयका अनुसार जिल्लामा पाँच हजार पाँच सय ११ जना सुरक्षाकर्मी खटिएका छन् । एकीकृत निर्वाचन सुरक्षा रणनीति अनुसार निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना सुरक्षाका लागि खटिएका छन् । जसमा नेपाली सेनाले बख्तरबन्द गाडीसहित निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्नका लागि खट्ने छन् ।