भवानीदत्त भट्ट
कञ्चनपुर, फागुन २० गते । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोबाइल, क्यामेरा लगायतका निषेधित सामग्री साथमा नलान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ । मतदानका लागि मतदान केन्द्रमा जाने मतदाताले निषेधित सामग्री नलग्न प्रशासनले आग्रह गरेको हो ।
बुधबार सूचना गर्दे जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिहरूले सलाई, लाइटर, प्रज्वलनशील ठोस वा तरल पदार्थ , फोटो खिच्ने क्यामेरा, मोबाइल वा अन्य निषेधित वस्तुहरू नलिई प्रवेश गर्न आग्रह गर्नुभयो ।
साथै, सूचना विपरीत कसैले मोबाइल फोन लगायतका निषेधित वस्तुहरू आफ्नो साथमा लिई मतदान केन्द्र मतदान कक्षमा प्रवेश गरेमा तत्काल जफत गरी कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी समेत दिएको छ ।