कर्णाली प्रदेश ब्युरो
सुर्खेत, फागुन २० गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । मतदान अधिकृतको नेतृत्वको टोली मतदान सामग्री बुझेर मतदान केन्द्र पुगिसकेका छन् । बिहीबार हुने निर्वाचनको वातावरण शान्तिपूर्ण बनाउन सर्वदलीय बैठकको आयोजना गरिरहेका छन् ।
सिँजा समाचारदाताका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाबाट निर्वाचनमा चाहिने सबै निर्वाचन सामग्री लिएर कर्मचारी मतदान केन्द्रमा पुगिसकेको जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिनुभयो । जिल्लाका ११० वटा मतदान केन्द्रमा सोमबार साँझसम्म मतपत्र र मतपेटीकालगायतका निर्वाचन सामग्री लिएर मतदान अधिकृतको नेतृत्वमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले बताउनुभयो । निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य ५१ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयबाट मतदान अधिकृतलाई बुझाइएको छ । जिल्लाभर ११० मतदान केन्द्र र ८५ वटा मतदान स्थल कायम गरिएको छ । निर्वाचनका लागि ६५४ जना कर्मचारी परिचालन भएका छन् ।
प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक कार्यालय सहयोगी कर्मचारी रहने तिमिल्सेनाले बताउनुभयो । निर्वाचनका लागि जिल्लामा कुल मतदाता ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । सुरक्षा विश्लेषणका आधारमा मतदान स्थलको सुरक्षा प्रबन्धलाई चुस्त र प्रभावकारी बनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिने प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको भनाइ छ । एकीकृत निर्वाचन सुरक्षा योजनाबमोजिम नेपाल प्रहरी मतदान स्थलको भित्री घेराको सुरक्षामा खटिने छ ।
नेपाली प्रहरीसँगै निर्वाचन प्रहरी पहिलो तहको सुरक्षा घेरामा परिचालित हुने छन् । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा एक स्वतन्त्रसहित नौ जना विभिन्न राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
१० जनामध्ये मुख्य प्रतिस्पर्धीका रूपमा नेकपाका नरेश भण्डारी, एमालेका शान्तिलाल महत, राप्रपाका ज्ञानेन्द्र शाही र कांग्रेसका दीपबहादुर शाहीलाई हेरिएको छ । पुराना दलका उम्मेदवारलाई रास्वपाका विनिता कठायत र प्रलोपाका मनऋषि धितालले समेत चुनौती दिएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट बिर्खबहादुर रावत, नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही, नेकपा (माओवादी) बाट बिर्खबहादुर शाही र स्वतन्त्र भक्तबहादुर रावल निर्वाचनमा होमिएका छन् ।
कर्मचारी र सुरक्षाकर्मी तैनाथ
सल्यान समाचारदाताका अनुसार बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन् । मतदान स्थलमा पुगेर कर्मचारीले सर्वदलीय बैठक आह्वान गर्दै अन्तिम तयारी अघि बढाएका छन् । जिल्लाका ११७ मतदान स्थल अन्तर्गत २०५ मतदान केन्द्रका लागि आवश्यक सम्पूर्ण निर्वाचन सामग्री सुरक्षित रूपमा पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार मतदान स्थलमा निर्वाचनपूर्व गरिने व्यवस्थापन, सामग्री मिलान, मतदान कक्ष सजाउने काम कर्मचारीले तीव्र रूपमा गरिरहेका छन् ।
निर्वाचनका लागि जिल्लाभर ४३० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत खटाइएको छ । सुरक्षा व्यवस्थापनका लागि नेपाली सेनाको टोली १३ स्थानमा परिचालन गरिएको छ भने एक हजार ४०६ जना निर्वाचन प्रहरीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी करिब एक हजार सुरक्षाकर्मी परिचालन भएका छन् । सुरक्षाकर्मीले पैदल, मोटरसाइकल तथा अन्य सवारीसाधनमार्फत जिल्लाभर नियमित गस्ती गरिरहेका छन् । जिल्लाका ११७ मतदान स्थलमध्ये ४३ स्थललाई अति संवेदनशील र ५७ स्थललाई संवेदनशील सूचीमा राखिएको छ । सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले स्थानीय प्रशासनले मतदान शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । सल्यानमा कुल एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन् । यस निर्वाचनमा १२ राजनीतिक दलका उम्मेदवार र दुई स्वतन्त्र गरी कुल १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।