• २० फागुन २०८२, बुधबार

समय अभावले गाउँमा पुगेन मतदाता शिक्षा

blog

बबई समाचारदाता

बबई (बर्दिया), फागुन २० गते । बर्दिया जिल्लाका ग्रामीण बस्तीमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा पुग्न नसकेको गुनासो बढेको छ । निर्वाचनको मिति छोटो अवधिमा तोकिएकाले समय अभावका कारण सबै गाउँसम्म मतदाता शिक्षा विस्तार हुन नसकेको देखिएको हो ।

जिल्ला निर्वाचन कार्यालय बर्दियाले आठ वटै स्थानीय तहमा ७५ जना मतदाता शिक्षक खटाएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जनाएको छ तर कतिपय गाउँटोलमा मतदाता शिक्षक नपुगेको भन्दै स्थानीय मतदाताले असन्तुष्टि व्यक्त गरेका छन् ।

राजापुर, ठाकुरबाबा, मधुवन, बारबर्दिया, बाँसगढी र गुलरिया नगरपालिका, बढैयाताल, गेरुवा गाउँपालिका अन्तर्गतका विभिन्न बस्तीमा मतदाता शिक्षा प्रभावकारी रूपमा नपुगेको गुनासो छ । विगतका निर्वाचनमा मतपत्रमा छाप लगाउने तरिका, मतपत्र पट्याउने विधि र मतदानका नियमबारे घरदैलोमै जानकारी दिइने गरेको भए पनि यस पटक धेरै स्थानमा त्यस्तो अभ्यास हुन नसकेको स्थानीय बासिन्दा रमेश चौधरीको भनाइ छ ।

ठाकुरबाबा नगरपालिका–५, शाहीपुरका मतदाता अमिर चौधरीले मतदानको दिन नजिकिँदासमेत आफ्नो टोलमा मतदाता शिक्षक नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “मतदान कसरी गर्ने भन्ने सामान्य जानकारी भए पनि यस पटक नमुना मतपत्रमार्फत अभ्यास गर्ने अवसर पाइएन ।” त्यसै गरी गुलरिया नगरपालिका–४, वारसी टोलका पप्पु पठानले पनि आफ्नो घरमा मतदाता शिक्षासम्बन्धी कोही नआएको गुनासो गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख मानबहादुर मल्लले भने १५ दिनसम्म ७५ जना मतदाता शिक्षकमार्फत कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । “भौगोलिक रूपमा विस्तृत र ग्रामीण बस्ती धेरै भएकाले सबै घरधुरीमा पुग्न चुनौती देखिएको हो,” उहाँले स्पष्ट पार्नुभयो ।