• १४ असार २०८१, शुक्रबार

स्वास्थ्य सेवामा तल्लीन सुन्दरी

blog

डा.आयुष्नोभा ढुङ्गाना चिकित्सक हुनुहुन्छ । उहाँ ‘मिस नेपाल २०२२’ मा पनि छनोट हुनुभएको थियो । सामाजिक कार्यमा रुचि राख्ने ढुङ्गाना यतिखेर मिस युनिभर्स नेपालको तयारीमा हुनुहुन्छ । उहाँले आफू चिकित्सक भएको नाताले सर्वसुलभ स्वास्थ्य सेवाका लागि सधैँ लागिपर्ने दृढता व्यक्त गर्न‘भयो । अनुवादको कार्य पनि उहाँले गर्दै आउनुभएको छ । मिस युनिभर्स नेपालको तयारीका बारेमा बहुप्रतिभाशाली ढुङ्गानासँग गोरखापत्रका लागि सुकृत नेपालले गरेको कुराकानी :

तपाईंको मिस युनिभर्स नेपालको तयारी कहाँसम्म पुग्यो ?

क्वार्टरफाइनलमा छानिएपछि टास्क वान सकिएको छ । अर्को हप्ताको मङ्गलबार टास्क टुको छनोटको कार्य अघि बढ्दै छ । त्यसपछि बिहीबार अनलाइनबाट जजहरूले छनोट गर्ने कार्यक्रम छ । त्यसपछि साउन ८ गते प्रश्न–उत्तरको समय आउँछ । साउन १७ गते सेमिफाइनलिस्टको जजिङ हुन्छ र त्यसपछि क्लोज क्याम्पमा राख्छ । 

तपाईं मिस नेपाल २०२२ को १२ जनाभित्र पर्न सफल प्रतियोगी हो, कस्तो रह्यो मिस नेपालको यात्रा ? 

मिस नेपाल मेरो १७ वर्षअघिदेखिको सपना थियो । म एउटा सामाजिक संस्थामा काम गर्छ‘ जसले बूढाबूढीको स्वास्थ्यका समस्याका काम गर्छ । मैले यही सामाजिक संस्थामार्फत एउटा ब्रेन ह्यामरेज हुनुभएकी आमा भेटँे जोसँग आफ्नो उपचार गर्न पैसा पनि थिएन । पैसा नभएर उहाँको अपरेसन पनि हुन पाएको छैन । 

त्यस्तै अन्य घरमा पनि त्यस्ता जटिल रोगका बिरामी धेरै हुनुहुन्छ, जसले पैसा नभएर आफ्नो उपचार गरिरहन पाउनुभएको छैन । उहाँहरू जस्तो स्वास्थ्य उपचार नपाउने हाम्रो देशमा धेरै हुनुहुन्छ । स्वास्थ्य सहयोग केही गर्छ‘ भनेर मिस नेपालमा गएकी थिएँ तर सफल हुन सकिनँ । मेरो धेरै वर्षदेखिको सपना थियो मिस नेपालको । त्यो सपना पूरा नहुँदा कस्तो हुन्छ भनेर मैले स्टेजमा थाहा पाएँ । त्यति बेला मैले अठोट गरेँ कि कसरी हुन्छ म आफूले गरेको मेहनत त्यसै खेर जान दिन्नँ र अवश्य मेरो १७ वर्षको मेहनत देखाउँछु । यही कारणले पनि म मिस युनिभर्सका लागि लागिपरेकी हुँ । मैले मिस नेपालमा सिकेको पाठ भनेको नै सबैबाट सचेत भने हुनुपर्दो रहेछ । यहाँ कति बेला के हुन्छ कसैलाई थाहा हुँदैन ।

तपाईं पेसाले डाक्टर हुनुहुन्छ तर कसरी मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न‘भयो ? 

मिस नेपाल भनेको यस्तो ठाउँ जसले एउटा टाइटल पाउनेबित्तिकै अरूको मद्दत गर्न केही सहयोग पुग्छ । म पनि मिस नेपाल बनेकी भए स्वास्थ्यमा मद्दत गर्न अझ सजिलो हुन सक्थ्यो होला । डाक्टरले सोच्ने तरिका र मिस नेपाल दिएको साहस प्रयोग गर्न म गएकी हुँ । 

तपाईंको आमा पनि चलचित्र क्षेत्रमा नै हुनुहुन्छ, आमाकै पेसा अँगालौँ भन्ने लागेन ? 

कलाकारिता भनेको एउटा पेसा हो । यो कुनै प्रशिक्षण होइन । फेरि हामी कलाकारितामा लागेपछि त्यहाँ शतप्रतिशत दिनुपर्छ । त्यत्तिकै रमाइलोका लागि चलचित्र गर्न‘ भनेको समयको बर्बादी हो जस्तो लाग्छ । चलचित्र क्षेत्रमा आउने विषयमा मैले सोचिसकेको छैन । 

यति सानो उमेरमा पनि तपाईंको सोच्ने तरिका धेरै माथि छ, कसैको प्रेरणाले यस्तो भएको हो कि ?

यो सबै हुनु भनेको सबैको आशीर्वाद र प्रेरणाले नै हो । अहिलेसम्म मेरो पूरै परिवार, साथीहरू र मैले अहिलेसम्म ज–जसलाई भेटेँ, मिस नेपाल र त्यहाँको साथीभाइलगायत सबैले गर्दा म आज यहाँ छु । 

 तपाईंले गर्नुभएका अन्य काम के–के छन् ?

मैले कक्षा ८ मा पढ्दा चलचित्र डा. खातेको अङ्ग्रेजी सबटाइटल लेखेकी थिएँ । यस्तै नेपाल साउथ अफ्रिका फिल्म फेस्टिभल र काठमाडौँ फिल्म फेस्टिभललगायतमा अवार्ड पाएको छु । त्यसपछि मैले तिज भन्ने वृत्तचित्रमा र राष्ट्रवादी गीत ‘त्यही सच्चा नेपाली’मा पनि सबटाइटल गर्ने मौका पाएकी थिएँ । राष्ट्रवादी गीतको भिडियोमा मैले अभिनय पनि गरेकी छु ।