शेरबहादुर सार्की
बाजुरा, फागुन १९ गते । बाजुराका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । जिल्लाका नौवटै स्थानीय तहमा रहेका ७७ स्थलका ११८ स्थायी र एक अस्थायी गरी ११९ वटै मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मीसहित निर्वाचन सामग्री पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बुढीनन्दा नगरपालिका–४ स्थित देवडाँडा माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत राजबहादुर भण्डारीले मतपेटिका, मसी, स्टाम्प प्याड, मतपत्र, स्केल र कलम लगायतका सामग्री बुझेर केन्द्रमा पुगिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले मतदान केन्द्रमा पुगेर निर्वाचनका लागि आवश्यक काम गरिरहेका छौँ । अहिले अनुसूची ३, ४, ५, ६ र ७ समेत टाँस गरिसकेका छौँ ।”
निर्वाचनलाई शान्तिपूर्ण र सुव्यवस्थित रूपमा सम्पन्न गर्न त्यहाँ सर्वपक्षीय बैठक समेत सम्पन्न भइसकेको छ । सो केन्द्रमा ‘क’ मा ५६० र ‘ख’ मा ६११ मतदाता रहेको भण्डारीले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलका अनुसार जिल्लाका ११९ मध्ये ११६ मतदान केन्द्रमा सामग्री पुगिसकेको छ भने सदरमुकाम नजिकै रहेका बडीमालिका नगरपालिकाका दुई स्थायी र एक अस्थायी केन्द्रको सामग्री मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा सुरक्षित राखिएको छ ।
उहाँले भन्नुभयो, “बाजुरामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै प्रक्रिया पूरा भएको छ । सबै मतदान केन्द्रमा आवश्यक कर्मचारी र सुरक्षाकर्मी खटिइसकेका छन् ।” निर्वाचनलाई मर्यादित बनाउन धेरैजसो स्थानमा आजैदेखि सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने कार्य भइरहेको पोखरेलले जानकारी दिनुभयो ।
बाजुरामा पुरुष ४५ हजार ४२८, महिला ४२ हजार ४३१ र अन्य दुई गरी कुल ८७ हजार ८६१ मतदाता रहेका छन् । जिल्लाभर ७७ मतदान स्थल र ११९ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।