• १३ असार २०८१, बिहिबार

ट्राफिक लाइट उद्घाटन

blog

सुनसरी समाचारदाता

इटहरी, साउन ४ गते । इटहरीस्थित मुख्य चोकमा जडान गरिएको ट्राफिक लाइटको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मङ्गलबार उद्घाटन गर्नुभएको छ ।प्रदेश सरकारअन्तर्गतको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको आर्थिक सहयोग र इटहरी उपमहानगरपालिका वडा नम्बर ६ को समन्वयमा इटहरीको मुख्य चोकमा जडान गरिएको ट्राफिक लाइटको औपचारिक सुरुवात भएको हो ।

ट्राफिक लाइट उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले गुरु योजना बनाएर विकास र बिस्तारका कामलाई क्रमवद्ध रूपमा अगााडि बढाउने प्रदेश सरकारको योजना रहेको बताउनु भयो । उहाँले इटहरी चोकमा निर्माण गरिने भनिएको आकाशे पुलको कामसमेत चालु आर्थिक वर्षमा गरिने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रदेश सरकारका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले ट्राफिक लाइट जडानबाट बढ्दो सवारी दुर्घटना नियन्त्रण र न्युनीकरणका सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री घिमिरेले प्रदेश १ का अन्य ठूूला सहरहरूमा पनि ट्राफिक लाइट जडान गर्ने योजना बनाइएको जानकारी दिनुभयो । उहाँले निजी क्षेत्रसँग समन्वय गरी सवारीसाधन पार्किङ स्थलको निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने बताउनुभयो ।

प्रदेश सभाका उपसभामुख सरस्वती पोखरेलले विकासका अभियान सञ्चालनमा जनप्रतिनिधिलाई स्थानीय उपभोक्ताको सहयोग र सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।इटहरी नगरप्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश १ का प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, इटहरी उपमहानगर–६ का वडाध्यक्ष दिवस पोखरेललगायतले 

बोल्नु भएको थियो । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको २५ लाख आर्थिक सहयोग तथा स्थानीय उपभोक्ताको दस प्रतिशतसमेतको लागतमा ट्राफिक लाइट जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष केशव कार्कीले बताउनुभयो ।