• १७ फागुन २०८२, आइतबार

फर्किएनन् मतदाता, उघ्रिएनन् घरका ढोका

blog

चुनाव आउन पाँच दिन बाँकी रहँदासमेत मतदाता नफर्किएपछि बाजुराका गाउँघरका ढोका सुनसान देखिएका छन्। तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, फागुन १७ गते ।
बाजुराका अधिकांश मतदाता यतिबेला रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा बसोबास गरिरहेका छन्। हिउँदको समयमा रोजगारीका लागि भारत गएका मतदाता गाउँमा चुनावी चहलपहल बढे पनि अझै फर्किएका छैनन्।

बुढीगंगा नगरपालिका–१० बदेडाका स्थानीय कालु सार्कीले गाउँमा जीविकोपार्जनका लागि पर्याप्त काम नपाएपछि आफू रोजगारीका लागि भारत गएको बताउनुभयो। उहाँले भन्नुभयो, “गत वर्ष गाउँमा घर बनाएको थिएँ। अहिले त्यो ऋण तिर्नका लागि परिवारसहित भारतमा आएका छौं।”

नेताका लागि काम छोडेर गाउँ जाउँ भने पनि ऋण कसरी तिर्ने भन्ने चिन्ता भएकाले मतदानका लागि गाउँ फर्कन नसकेको उहाँले बताउनुभयो।

बुढीगंगा नगरपालिका–१० बदेडा टोलमा झन्डै ८५ दलित परिवारको बसोबास छ। तीमध्ये अधिकांश परिवार यतिबेला भारतमा छन्। दशैं–तिहारमा गाउँ आएका उनीहरू मंसिर–पुसमा भारत गएका थिए। अघिल्ला निर्वाचनमा भने मतदान गर्न गाउँ फर्किने गरे पनि यस वर्ष भने फर्किएका छैनन्।

छोराछोरीको पढाइ र परिवारको पालनपोषणका लागि यहाँका अधिकांश स्थानीय भारत जाने गरेका छन्। दशैं–तिहारमा गाउँ आउने र त्यसपछि पुनः भारत फर्किने यहाँको सामान्य चलन बनेको छ।

बुढीगंगा नगरपालिका–१० सिगाडाका भीम सार्कीले आफू प्रत्येक चुनावमा गाउँ गएर मतदान गर्ने गरे पनि नेताहरूले गाउँको विकास नगरेको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “गाउँमा चुनावी चहलपहल छ, तर म भने अझै फर्किएको छैन। भोट हाल्न गाउँ जाँदा २० देखि ३० हजार रुपैयाँ खर्च हुन्छ, त्यति पैसा मसँग छैन।”

घर खर्चका लागि लिएको ऋण अझै तिर्न नसकेकाले फेरि ऋण लिएर गाउँ जान नसकेको उहाँले बताउनुभयो। त्यसैले यसपटकको निर्वाचनमा गाउँ नफर्किएको उहाँको भनाइ छ।

यहाँका अधिकांश प्रवासी मजदुर नयाँ वर्ष र दशैं–तिहारको समयमा गाउँ फर्किने गर्छन्। अहिले त्यो समय नभएकाले पनि धेरै मतदाता गाउँ फर्कन सकेका छैनन्।

हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगंगा, त्रिवेणी र खप्तडछेडेदह गाउँपालिका तथा नगरपालिकाका अधिकांश स्थानीय रोजगारीको खोजीमा भारत जाने गरेका छन्।

यता सात दल र एक स्वतन्त्र उम्मेदवार चुनावी प्रचारमा व्यस्त छन्। उम्मेदवारहरू गाउँ–गाउँ पुगेर मतदातासँग भेटघाट गर्दै मत मागिरहेका छन्।

निर्वाचनमा नेपाली कांग्रेसका जनकराज गिरी, एमालेका लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका केशरबहादुर शाही, नेकपा (माओवादी केन्द्र) का भूपेन्द्र सी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का दीपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही गरी आठ जना चुनावी मैदानमा छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा झन्डै २४ हजार ४४३ घरधुरी रहेका छन्। जनगणना अनुसार बाजुराको कुल जनसंख्या १ लाख ३८ हजार ९९८ भए पनि कामका लागि ठूलो संख्या भारतमा बस्ने गरेको छ।

गाउँमा अहिले वृद्धवृद्धा मात्र बढी देखिन्छन् भने अधिकांश युवा रोजगारीका लागि भारतमा छन्। उनीहरू अझै गाउँ फर्किएका छैनन्।

निर्वाचन हुन पाँच दिन मात्र बाँकी रहँदा पनि मतदाता गाउँ नफर्किएको अवस्था छ। यसैबिच सुदूरपश्चिमका विभिन्न नाकामा फागुन १८ गतेदेखि २१ गते बेलुकासम्म सीमा नाका बन्द गर्ने सूचना जारी गरिएको छ।

यसैबिच मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार आज बिहानदेखि जिल्लाका ७७ मतदान स्टल र ११९ मतदान केन्द्रमा मतदान सामाग्री ढुवानी सुरु गरिएको छ।

जिल्लामा ८७ हजार ८६१ मतदाता रहेका छन्। तीमध्ये ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र अन्य २ जना मतदाता रहेका छन्। मतदानका लागि ७७ स्टल र ११८ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गत महतले जानकारी दिनुभयो।