• १६ फागुन २०८२, शनिबार

आश्वासन होइन,‘लालपुर्जा’ दिलाइदिनेलाई मत

blog

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२, तोरीखोरिया बस्ती ।

केदार तिमल्सिना 

बनेपा, फागुन १६ गते । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२, तोरीखोरियामा करिब ५५ घरधुरी तामाङ समुदायको बसोबास रहेको छ । चार/पाँच पुस्तादेखि यस स्थानमा बसोबास गर्दै आएका स्थानीयले अहिलेसम्म पनि आफूले उपभोग गरेको जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाउन नसक्दा सुकुमवासी भएर बस्न बाध्य भएका छन् । 

हरेक निर्वाचनमा यहाँका सुकुमवासीलाई जग्गा दिलाउने प्रतिबद्धता जनाउँदै राजनीतिक दल र उम्मेदवार भोट माग्दै आए पनि हालसम्म पनि उनीहरूले जग्गाको लालपुर्जा पाउन सकेका छैनन् । यस पटक तोरीखोरियाका बासिन्दा विगतका निर्वाचनमा जस्तो लालपुर्जा दिलाइदिने आश्वासन दिने उम्मेदवारभन्दा पनि साँच्चै लालपुर्जा नै दिलाउने उम्मेवारको खोजीमा रहेका छन् । “बर्सौंदेखि विभिन्न दलका उम्मेदवार आएर तिमीहरूलाई लालपुर्जा दिलाइदिन्छौँ, हामीलाई भोट दिनु भनेर भोट माग्न आउने फेरि चुनाव आउँछ, तपाईंहरूको लालपुर्जा ल्याएर रातो रुमालमा पोको पारेका छौँ । चुनावमा भोट दिनु हामी लालपुर्जा दिन्छौँ भनेर आश्वसन दिँदै हामीसँग मत माग्न आए, चुनाव जितेर गएपछि भने हाम्रो समस्या समाधान गरेनन्,” स्थानीय नारायण तामाङले गुनासो गर्नुभयो । उहाँले हरेक निर्वाचनमा आफूहरूलाई लालपुर्जा दिलाइदिने आश्वासन दिने गरेको भन्दै यस पटक आफूले उपभोग गरेको जग्गाको लालपुर्जा दिलाउन पहल गर्ने उम्मेदवारको खोजी भइरहेको बताउनुभयो । उहाँले गाउँमा खानेपानीको समस्या हुँदासमेत कुनै निकायको ध्यान नगएको बताउँदै खानेपानीको समस्या समाधानका लागि आफैँले पाइप किनेर पानी खानु परेको, बाटो राम्रो नहुँदा दुःख भोग्नु परेको र गत वर्षको बाढीपहिरोले ठुलो क्षति पुगे पनि अहिलेसम्म स्थानीयले कुनै राहत नपाएको सुनाउनुभयो । 

स्थानीय मोहनसिं तामाङले पाँच पुस्तासम्म आइपुग्दासमेत आफूहरूले भोगचलन गरेको जग्गाको लालपुर्जा पाउन नसक्दा सुकुमवासी बन्नु परेको बताउनुभयो । “मेरो बाजेको पालादेखि भोगचलन गरेको जग्गा अहिले मेरो नातिको पालासम्म आइपुग्दा हामीले लालपुर्जा पाउन सकेनौँ, आफूले भोगचलन गरेको जग्गाको लालपुर्जा नहुँदा सुकुमवासी बन्न पुगेका छौँ,” मोहनसिं तामाङले भन्नुभयो, “अहिलेसम्म धेरै चुनाव आए, जग्गाको लालपुर्जा दिलाइदिन्छौँ भनेर धेरै आशा देखाइयो, जुन जोगी आए पनि कानै चिरिएको भने जस्तो अहिलेसम्म हाम्रो समस्याको समाधान हुन सकेको छैन अब त जग्गाको लालपुर्जा पाउने आशा समेत हराइसकेको छ । हामी लालपुर्जा दिलाइदिने आशा देखाउने उम्मेदवार मात्रै नभई साँच्चै लालपुर्जा दिलाइदिने उम्मेदवारको खोजीमा छौँ ।”  

स्थानीय सूर्य तामाङले आफूहरूले बर्सौंदेखि उपभोग गर्दै आएको जग्गाको अहिलेसम्म जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउन नसकेको बताउनुहुन्छ । उहाँले जग्गाको लालपुर्जा नपाउँदा धेरै अप्ठ्यारा आउँदासमेत उक्त जग्गाको सदुपयोग गर्न नपाएको बताउनुहुन्छ । “हामीले उपभोग गरेको जग्गाको लालपुर्जा पाउन पाए भोलि केही अप्ठ्यारो पर्दा काम गर्न सहज हुने थियो,” सूर्यले भन्नुभयो । उहाँले तोरीखोरियाका बासिन्दाको लालपुर्जाको समस्या चुनावी एजेन्डा बनाउने उम्मेदवारभन्दा पनि काम गर्ने उम्मेदवारको खोजी गरिरहेको बताउनुभयो । पनौती नगरपालिकाका पूर्वनगर प्रमुख भीम न्यौपानेले पञ्चायतकालदेखि नै पनौती नगरपालिका–२ मा बसोबास रहे पनि स्थानीयले हालसम्म पनि उपभोग गरेको जमिनको लालपुर्जा पाउन नसकेको बताउनुभयो । उहाँले विसं २०५१ सालमा गठन भएको भूमि आयोगले स्थानीयले उपभोग गरेको जग्गाको नापजाँचको काम सके पनि आयोग विघटनसँगै स्थानीयले लालपुर्जा प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले गठन भएका भूमि आयोगमार्फत स्थानीयको समस्या समाधान गर्ने पहल भए पनि हालसम्म पनि जग्गाको लालपुर्जा प्राप्त गर्न नसकेको बताउनुभयो । 

भूमि समस्या समाधान आयोग काभ्रेपलाञ्चोकले जग्गाको नापी गर्ने क्रममा तोरीखोरियाको पूर्वीतर्फको क्षेत्रफलको नापजाँच गरेको र पश्चिमतर्फ बसोबास भइरहेको जग्गाको नापजाँच गर्न छुटेका कारण स्थानीयवासीले हालसम्म जग्गाको लालपुर्जा प्राप्त गर्न नसकेको जनाएको छ । आयोगका अध्यक्ष विदुरप्रसाद हुमागाईंले लालपुर्जा प्राप्त गर्न नसकेका तोरीखोरियाका बासिन्दालाई जग्गा दिलाउन वडा कार्यालयले सिफारिस गरेको र आयोगले तोरीखोरियावासीको अन्यत्र जग्गा भए/नभएको विषयमा बुझ्न मालपोत कार्यालयमा पठाएको बताउनुभयो ।