अमरराज नहर्की
तनहुँ, फागुन १४ गते ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा तनहुँमा केही उम्मेदवारले निर्वाचन खर्चका लागि अनिवार्य गरिएको छुट्टै बैंक खाता नै नखोलेको तथ्य सार्वजनिक भएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ र २ मा प्रतिस्पर्धामा रहेका चार राजनीतिक दलका उम्मेदवारले हालसम्म निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता नखोलेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका प्रमुख विकास लम्सालका अनुसार क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार रामलक्ष्मी दुवाल, आम आदमी पार्टीकी उम्मेदवार चिजा माया अधिकारी, जनमुक्ति पार्टीका उम्मेदवार लालबहादुर सार्की गोतामे तथा क्षेत्र नम्बर २ बाट नेपाल मजदुर किसान पार्टीकै उम्मेदवार लक्ष्मण अधिकारीले खर्च कारोबारका लागि आवश्यक बैंक खाता नखोलेका हुन् ।
निर्वाचन खर्च पारदर्शी बनाउन कानुनले उम्मेदवारलाई व्यक्तिगत खाताबाट खर्च गर्न नपाउने र निर्वाचन प्रयोजनका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।
निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैङ्किङ प्रणालीमार्फत गर्नुपर्ने स्पष्ट प्रावधान छ ।
नगद कारोबारलाई निरुत्साहित गर्दै खर्चको स्रोत, सीमा र विवरण पारदर्शी बनाउन यो व्यवस्था गरिएको हो ।निर्वाचन आयोगले प्रतिनिधिसभा उम्मेदवारका लागि अधिकतम ३१ लाख रुपियाँसम्म मात्र खर्च गर्न पाउने सीमा तोकेको छ ।
सो सीमाभित्र रहेर खर्च भएनभएको यकिन गर्न बैंक खाता अनिवार्य मानिएको हो।प्रमुख लम्सालका अनुसार सम्बन्धित उम्मेदवारलाई समयमै बैंक खाता खोली खर्च बैङ्किङ प्रणालीबाट गर्न मौखिक तथा लिखित रूपमा जानकारी गराइसकिएको छ ।
तोकिएको प्रक्रिया पालना नगरे कानुनअनुसार कारबाही हुन सक्ने चेतावनीसमेत दिइएको लम्सालले बताउनुभयो ।खाता नै नखोल्दा उम्मेदवारले गर्ने खर्चको प्रभावकारी अनुगमन कठिन हुने र आचारसंहिता उल्लङ्घनको जोखिम बढ्ने निर्वाचन कार्यालयको ठहर छ ।
उम्मेदवारको नाम, दल, निर्वाचन क्षेत्र र बैंक विवरणसहितको प्रतिवेदन निर्वाचन आयोगमा पठाइने व्यवस्था रहेको छ ।जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी पनि बढ्दै गएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार हालसम्म २५ वटा उजुरी दर्ता भएका छन् ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार ती उजुरीमाथि सम्बन्धित पक्षसँग स्पष्टीकरण लिने र सचेत गराउने काम भइरहेको छ ।
उहाँका अनुसार तनहुँ क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले केही सामुदायिक विद्यालयमा वितरण गरेको डिजिटल स्मार्ट बोर्डमा उम्मेदवारको तस्बिर र चुनाव चिह्न फेला परेपछि उक्त सामग्री हटाउन लगाइएको छ ।
प्रजिअ तिवारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको बताउँदै भीड प्रदर्शन, झण्डाको अत्यधिक प्रयोग तथा सरकारी कर्मचारी निर्वाचन प्रचारमा संलग्न भएको विषयमा बढी उजुरी आएको जानकारी दिए ।
आचारसंहिता उल्लङ्घन गर्ने जोसुकैलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने र हाललाई मौखिक तथा लिखित रूपमा सचेत गराउने कार्य भइरहेको उहाँले बताउनुभयो ।तनहुँमा क्षेत्र नं. १ मा १६ जना र क्षेत्र नं.२ मा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
जिल्लाभर कुल दुई लाख ५४ हजार ३९७ मतदाता रहेको यस निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रशासनले जनाएको छ । निर्वाचन आचारसंहिता अनुगमनका लागि छुट्टै टोली परिचालन गरिएको छ ।