• १३ फागुन २०८२, बुधबार

युवा पुस्ताको भावना बुझेर कांग्रेस अघि बढ्छ : उपसभापति शर्मा

blog

बुधबार महोत्तरीको क्षेत्र नं. ४ सम्सी बजारमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उम्मेदवार महेन्द्रकुमार राय यादव । तस्बिर : अजय शाह

अजय शाह

गौशाला (महोत्तरी), फागुन १३ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै कांग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको दाबी गर्नुभएकाे छ ।

बुधबार महोत्तरीको क्षेत्र नं. ४ स्थित सम्सी बजार पुग्नुभएका उपसभापति शर्माले पार्टीले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवामा नेतृत्व हस्तान्तरण गरिसकेको उल्लेख गर्नु भयाे  । नेपालमा उत्पन्न भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान् दल नेपाली कांग्रेस नै भएको बताउँदै उहाँ ‘जेन–जी’ पुस्ताको भावना बुझेर उनीहरूसँग समन्वय गर्दै अघि बढ्ने नीति पार्टीले लिएको स्पष्ट पार्नु भयाे।

उपसभापति शर्माले निर्वाचन यही फागुन २१ गते हुने जानकारी दिँदै महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र राय यादवलाई मतदान गरी विजयी बनाउन मतदातासँग आग्रह पनि गर्नुभयाे । सो अवसरमा उहाँले सम्सी गाउँपालिका–६ स्थित सम्सी बजारमा शहीद शिवचन्द्र मिश्रको शालिकमा पुष्पमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयाे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा औरही नगरपालिकाका पूर्व नगरप्रमुख सुनीलकुमार यादव उपसभापति शर्माको महोत्तरी भ्रमणले पार्टी सङ्गठन थप मजबुत बनेको छ भन्नुभयाे । उहाँ महोत्तरी–४ मा कांग्रेसप्रति जनसमर्थन बढ्दै गएको दाबी गर्नुहुन्छ ।

यसैगरी, नेपाली कांग्रेसका मधेश प्रदेश समिति सदस्य नरेन्द्र यादव कांग्रेसको नीति र नेतृत्वप्रति जनविश्वास बढ्दो क्रममा रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । उम्मेदवार महेन्द्र रायले पार्टी नेतृत्व, नेता–कार्यकर्ता र मतदाताबाट प्राप्त समर्थनले आफू थप उत्साहित भएको प्रतिक्रिया दिँदै शहीदको बलिदानलाई आत्मसात् गरी समावेशी विकास र जनसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।

कार्यक्रममा नगरपालिका तथा गाउँपालिकाका सभापति, वडा सभापति, स्थानीय नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको छ ।