काठमाडौँ, फागुन १३ गते । धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे–नागढुङ्गा सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ। हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ।
नौबिसे–नागढुङ्गा सडकखण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाका अनुसार सडकखण्डअन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुई वटा पुल निर्माण गर्नुपर्ने थियो। सोहीअनुसार आयोजनाले अधिकांश काम सम्पन्न गरिसकेको छ।
आयोजनाका अनुसार अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गर्नुपर्नेछ। अन्तिम तहको कालोपत्रे सम्पन्न भएपछि सडक सुरक्षासम्बन्धी मापदण्ड तथा रंगरोगनको काम सुरु गरिनेछ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तथा त्यसअघि पर्ने होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ।
खानीखोला क्षेत्रमा निर्माण हुने आकाशे पुलस्थलमा रहेका टहरासम्बन्धी विवादका कारण पनि केही समय निर्माण कार्य ढिलाइ भएको थियो। आकाशे पुल निर्माणलगायत मुख्य कामहरू ३५ दिनभित्र सम्पन्न गर्ने आयोजनाको दाबी छ।
सडक निर्माण स्थानीय बासिन्दासँग जोडिएको विषय भएकाले एउटै विषयमा समाज विभाजित हुँदा निर्माण कार्यमा समस्या हुँदै आएको आयोजनाले जनाएको छ।
आकाशे पुल निर्माणका लागि अधिकांश स्थानीयलाई स्थानान्तरण गरिसकिएकाले अब कामले गति लिने विश्वास आयोजनाले लिएको छ। निर्माण कम्पनी सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक शहदेव खड्काले निर्वाचनका कारण निर्माणमा केही ढिलाइ हुन सक्ने बताउनुभयो।
यसअघि सडक क्षेत्रमा रहेका विद्युत् पोलका कारण पनि निर्माण कार्य प्रभावित हुँदै आएको थियो। २०७९ सालबाट सुरु गरिएको यो आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।