दाङ समाचारदाता
दाङ, फागुन १३ गते । निर्वाचन नजिकिँदै गएसँगै उम्मेदवार मतदाताको घरदैलोमा पुग्न व्यस्त छन् । यसैबिच स्वर्गद्वारी गुठीपीडित मोही किसानले उम्मेदवारसँग आफ्ना दीर्घकालीन समस्यालाई चुनावी एजेन्डाका रूपमा अघि सारेका छन् । किसानले घरदैलोमा आउने उम्मेदवारदेखि सामूहिक छलफलसम्म आफ्नो आवाज उठाउँदै लामो समयदेखि अल्झिँदै आएको समस्याको समाधानका लागि दबाब सिर्जना गरिरहेका छन् ।
बर्सौंदेखि स्वर्गद्वारी गुठीको जग्गामा बसोबास गर्दै आएका गुठीपीडित किसानले आश्रमको जग्गा आफ्नो नाममा रैकर गरिनुपर्ने र मोहियानी हक कायम गर्नुपर्ने माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन् । पटक पटक आन्दोलन गर्दा पनि सुनुवाइ नभएपछि उनीहरूले अब हुने निर्वाचनमा सहभागी नहुनेसमेत चेतावनी दिएका छन् । घोराहीमा पत्रकार सम्मेलन गर्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समितिका सहसचिव एवं प्रवक्ता प्रवीण चौधरीले समस्या समाधान नभए प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्नेसम्मको चेतावनी दिनुभयो ।
यसैबिच दाङ निर्वाचन क्षेत्र नं. १ का उम्मेदवारसँग मोही किसानले सामूहिक छलफल गरेका छन् । छलफलका क्रममा उम्मेदवारले मोही अधिकार सुनिश्चित हुने गरी ऐन ल्याउने पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा नेपाली कांग्रेसका योगेन्द्र चौधरी, नेकपा (एमाले) का रेवतीरमण शर्मा घिमिरे, नेकपाका मेटमणि चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक र समानुपातिक उम्मेदवार सुरेन्द्र चौधरी, नेकपा (माओवादी केन्द्र) का प्रकाश शाही, जसपाका भरतलाल चौधरी, राष्ट्रिय जनमोर्चाका गणेशप्रसाद आचार्य र राष्ट्रिय परिवर्तन पार्टीका रञ्जित चौधरीले मोही किसानको समस्या समाधानका लागि प्रतिबद्धता जनाउनुभएको छ । त्यसै गरी क्षेत्र नं. ३ का उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरी, नेकपा (एमाले) का घनश्याम पाण्डेय, नेपाल कम्युनिस्ट पार्टीका धनबहादुर मास्की र रास्वपाका कमल सुवेदीसँग पनि छलफल गरेको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय दाङको गेटमा सयौँ गुठीपीडित किसान अनिश्चितकालीन धर्नामा बसेपछि स्वर्गद्वारी गुठीपीडित किसान र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबिच २०८० चैत ७ गते दुईबुँदे सहमति भएको थियो । सो सहमतिमा नेपालको संविधान २०७२ ले गुठीसम्बन्धी गरेका व्यवस्थालाई व्यवस्थित गर्दै स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने सङ्घर्षरत मोही किसानको माग सम्बोधन हुने गरी नयाँ एकीकृत गुठीसम्बन्धी कानुन तर्जुमा प्रक्रिया अविलम्ब थालनी गर्ने सहमति गरिएको थियो । यद्यपि उक्त सहमति कार्यान्वयनमा नआएपछि गुठीपीडित किसानले गत वर्ष काठमाडौँमा झन्डै ५१ दिनसम्म आन्दोलनमा उत्रिएका थिए ।
स्वर्गद्वारी आश्रमका अनुसार आश्रमको दाङ, प्युठान र रोल्पामा जग्गा रहेको छ । दाङमा एक हजार ३४ बिघा १७ कट्ठा सात धुर जग्गा छ भने प्युठानमा २८ हजार रोपनी र रोल्पामा १६ रोपनी जग्गा रहेको आश्रमले जनाएको छ । यीमध्ये ६१४ बिघा १२ कट्ठा १४ धुर जग्गामा मोही कायम रहेको आश्रमको भनाइ छ तर स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समितिले भने ७५३ बिघा जग्गामा मोही कायम रहेको दाबी गरेको छ । उक्त जग्गामा करिब तीन हजार पाँच घरधुरी मोही किसान आश्रित छन् । आश्रमको दाङ जिल्लाभित्र घोराही, तुलसीपुर, लमहीलगायतका क्षेत्रमा जग्गा रहेको छ ।