• २९ वैशाख २०८१, शनिबार

जुत्ता–चप्पल राख्नै सकस

blog

काठमाडौँ, साउन ३ गते । जीवनराम श्रेष्ठ गत असार २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त हुनुभएपछि दलबलसहित पशुपति क्षेत्र जानुभयो । पशुपतिनाथको मूल प्रवेशद्वार अगाडि उहाँले खिचाएको तस्बिरको सामाजिक सञ्जालमा निकै आलोचना भयो । कारण थियो– अन्य भक्तजनले जुत्ता–चप्पल लगाएर जान नपाइने ठाउँमा उहाँहरूले जुत्ता लगाएर खिचिएको तस्बिर । 

मन्त्री श्रेष्ठको टोलीले जुत्ता लगाएर गएको ठाउँ जुत्ता–चप्पल निषेधित क्षेत्र नै भने होइन । पहिले सर्वसाधारण पनि त्यस ठाउँमा जुत्ता–चप्पल लगाएरै जान पाउँथे । त्यसपछि जुत्ता–चप्पल राख्ने ठाउँ सारियो । सारियोमात्र होइन, बिरालाले छाउरा सारेजस्तै गरी सारिँदै छ । हालसम्म छ ठाउँमा सारिसकिएको छ ।

पछिल्लो पटक जयबागेश्वरीबाट सिधै तल झरेर आर्यघाट जाने बाटोको बायाँतर्फ (गोल्डेन गेटअगाडि) र कैलाशडाँडा जाने बाटोमा रहेको गेट नम्बर ३ मा सारिएको छ । तर तीर्थालुले यी ठाउँ विरलै देख्छन् । त्यसमाथि फूल–प्रसाद बेच्नेले आफ्नै पसलछेउ जुत्ता–चप्पल राख्दा हुन्छ भनेर राख्न लगाउँछन् । प्रहरीले फेलापारेपछि ती जुत्ता–चप्पल बोरामा हालेर फ्याँकिदिन्छन् । चर्को घाममा ढुङ्गा र इँटामा पैताला पोल्दै हतार–हतार जुत्ता–चप्पल लगाउन आउने भक्तजन जुत्ता–चप्पल खरिद गर्न कि पसलतिर दगुुर्नुपर्छ भने कि खाली खुट्टा घर फर्कनुपर्ने हुन्छ । साउन लागिसकेको छ । आज साउनको पहिलो सोमबार हजारौँ श्रद्धालु महिला पशुपतिनाथको दर्शन गर्न लाम लागे । तर उनीहरूका जुत्ता–चप्पल पशुपति परिसरमा धेरै छरपस्ट रहे । 

महादेवलाई शुद्ध जल अर्पण गर्ने बोलबम यात्रीको पनि भीड बढ्दै गएको छ । कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष साउनमा पशुपतिनाथको दर्शन गर्न नपाएका भक्तजन यस वर्ष भने चान्द्रमासअनुसार साउन लागेदेखि नै पशुपति क्षेत्र धाउन थालेका छन् । जुत्ता–चप्पल लकर कक्ष सहजै देखिने ठाउँमा नहुँदा दर्शनार्थीले समस्या भोग्ने गरेका छन् । 

२०७५ फागुनमा माछापुच्छ«े बैङ्कले दर्शनार्थी तथा पर्यटकले ल्याउने सरसमान सुरक्षाका निम्ति कोषलाई हस्तान्तरण गरेको थियो । पशुपति विकास कोषले त्यहाँबाट जुत्ता राख्ने ठाउँ घ्याम्पेपाटीमा, रुद्रिगडेश्वर, झार सत्तल क्षेत्र (हालको एसबीआई बैङ्कको शाखाअगाडि), वासुकीचोक हुँदै अहिले गोल्डेन गेटको अगाडि सारेको छ । फेरि पनि त्यसलाई गौशालाबाट आर्यघाट जाने बाटोबाट उत्तरतिर रहेको मैदानमा सार्ने कोषको तयारी छ ।

हाल सञ्चालनमा रहेको लकर परिसरभित्र छिर्ने गोल्डेन गेटको बायाँतर्फ हुनुपर्ने हो तर दर्शनार्थीको सहजै आँखा पर्ने तथा मन्दिरबाट नजिकको दूरीमा नहुँदा उनीहरूले असुविधासँगै समय–समयमा जुत्ता–चप्पलसमेत हराउँदै आएका छन् । 

लकरको क्षमता त पाँच हजार जोर जुत्ताको छ तर दर्शनार्थीले सहजै देख्ने स्थानमा नहुँदा गोल्डेन गेटनजिकै सडक–पेटी र फूल–प्रसाद बेच्ने पसलमा जुत्ता–चप्पल राख्दै आएका छन् । त्यसरी असुरक्षित रूपमा राखिएका महँगा जुत्ता–चप्पल सडक बालबालिकाले लगेर बेच्दै आएका छन् । त्यसमा पशुपति विकास कोष मौन देखिएको छ ।

लकर बिहान चारदेखि साँझ आठ बजेसम्म खुला हुनुपर्ने हो तर साँझको आरती दर्शन गर्ने समयमा बन्द भइसकेको हुन्छ । बेलुका छ बजेपछि दर्शनार्थीले लकरको सुविधा प्रयोग गर्न पाउँदैनन् । कोषले गोल्डेन गेटभित्र छिरेर मन्दिर दर्शन गर्न जाने बाटोमा श्रद्धालुका लागि बीच–बीचमा रातो, हरियो कार्पेट बिछ्याइएको छ । तर जुत्ता–चप्पल राख्ने स्थलदेखि मन्दिरसम्म ठाउँ–ठाउँमा कार्पेटसमेत व्यवस्था नहुँदा तातेका ढुङ्गाले पैताला पोल्ने गरेको दर्शनार्थी पवन ढुङ्गानाको गुनासो छ । उहाँले भन्नुभयो, “लकरबाहिर पानी पर्दा र घाम लाग्दा ओत लाग्ने छाना छैन ।

लकरको समस्यासँगै दर्शनार्थीले चढाएका बेलपत्र, फूललगायतका पूजासामग्री मन्दिरनजिकको डोकामा राख्ने नियमले नमिठो बनाउनेछ ।”कोषले भने भक्तजनका समस्या समाधान गर्न नीतिगत सुझाव दिन सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा समिति गठन गरेको जनाएको छ । अब समस्या नहुने सुझाव त्यसले दिनेछ ।

Author

मीनराज भण्डारी