टपाल्पा (मेक्सिको), फागुन १२ गते । सन् २०२६ को फिफा विश्वकपका खेल आयोजना गर्ने तयारीमा रहेको मेक्सिकोमा शक्तिशाली लागु औषध गिरोह विरुद्धको सैन्य कारबाहीपछि भड्किएको हिंसाले पर्यटन क्षेत्र चिन्तित बनेको छ ।
विशेष गरी जलिस्को राज्यका सहरमा भएको गोलीबारी र विस्फोटका घटनाले स्थानीय व्यवसायी र पर्यटक दुवैमा असहजता बढाएको छ । जलिस्कोको पहाडी सहर टपाल्पामा पारिवारिक सानो पसल सञ्चालन गर्दै आएकी ५० वर्षीया मारिया डोलोरेस अगुइरेका अनुसार पछिल्लो घटनाले जीविकोपार्जनमै असर पार्ने डर बढेको छ ।
मेक्सिकाली सेनाले नजिकै ‘एल मेन्चो’ भनेर चिनिने लागु औषध गिरोहका नेता नेमेसियो ओसेगुरा सर्भान्टेस विरुद्ध कारबाही गर्दा गोलीबारी र हेलिकप्टरको गतिविधि देखिएको थियो । अधिकारीका अनुसार उक्त अपरेसन र त्यसपछिको झडपमा ७० जनाभन्दा बढीको ज्यान गएको छ ।
ओसेगुरा सर्भान्टेस जलिस्को न्यु जेनेरेसन लागु औषध गिरोहका नेता थिए, जसलाई फेन्टानिल, मेथामफेटामाइन र कोकेन तस्करीसँग जोडेर हेरिँदै आएको थियो । ह्वाइट हाउसले उक्त अपरेसनमा अमेरिकी खुफिया सहयोग रहेको पुष्टि गर्दै मेक्सिकाली सेनाको प्रशंसा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले उनको गिरफ्तारीका लागि सूचना दिने व्यक्तिलाई एक करोड ५० लाख डलरसम्म पुरस्कार दिने घोषणा गरेको थियो ।
मेक्सिको सरकारले लागु औषध गिरोह विरुद्ध कारबाही तीव्र बनाउँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपराधिक समूह विरुद्ध कडा कदम नचाले थप शुल्क वा एकपक्षीय कारबाहीको चेतावनी दिनुभएको थियो । विश्वकै ठुलो फेन्टानिल तस्कर मानिएका नेताको मृत्युले दबाब कम हुने अपेक्षा गरिएको भए पनि सम्भावित प्रतिशोधको चिन्ता बढेको छ ।
प्रशान्त तटीय पर्यटकीय सहर पोर्टो भल्लार्टामा आइतबार बिहान विस्फोट र कालो धुवाँ देखिएपछि पर्यटक त्रसित भएका थिए । ५७ वर्षीय अमेरिकी पर्यटक स्टिभ पर्किन्स र उहाँकी पत्नी गेलले आफ्नो होटलको छतमा हुँदा वरिपरि विस्फोट सुन्नुभएको थियो । सोमबार उडान रद्द भएपछि उहाँहरूको स्वदेश फिर्ता ढिलाइ भएको थियो । सन् २०१२ देखि नियमित रूपमा यहाँ भ्रमण गर्दै आएका उहाँहरूले भविष्यमा पुनः आउने विषयमा पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ ।
टपाल्पामा अगुइरेको १५ वर्षीय छोराको कक्षा हिंसाका कारण रद्द गरिएको थियो । उहाँका अनुसार अहिले क्षेत्रको नियन्त्रण सेना वा लागु औषध गिरोहमध्ये कसको हातमा छ भन्ने स्पष्ट छैन । “यदि नेताको मृत्यु भएको हो भने अब नेतृत्व र नियन्त्रणका लागि फेरि सङ्घर्ष हुन सक्छ”, उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
जलिस्को राज्यले आगामी विश्वकपका खेल आयोजना गर्ने भएकाले सुरक्षा व्यवस्थाप्रति विशेष चासो बढेको छ । स्थानीय व्यवसायीका अनुसार भर्खरैका हिंसात्मक घटनाले विदेशबाट आउने पर्यटकलाई यात्रा गर्ने विषयमा फेरि सोच्न बाध्य पार्ने सम्भावना छ । त्यसैले सरकारले कडा सुरक्षा प्रबन्ध लागु गरी आगन्तुकको विश्वास फिर्ता ल्याउन आवश्यक देखिन्छ । रासस/एपी