• १२ फागुन २०८२, मङ्गलबार

सडक दुर्घटनामा ज्यान गुमाएका कांग्रेस नेता न्यौपानेको अन्तिम संस्कार

blog

प्रेमराज सिम्खडा

कालीकोट, फागुन १२ गते । नेपाली कांग्रेस कालीकोटका नेता जन्मप्रसाद न्यौपानेको मङ्गलबार कर्णाली नदीमा अन्त्येष्टि गरिएको छ । सोमबार बिहान कालीकोट सदरमुकाम मान्मबाट घर जाने क्रममा पचालझरना गाउँपालिका–४ निवासी न्यौपानेको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो ।

उहाँको पार्थिव शरीरमा नेपाली कांग्रेसको झन्डा ओढाएर सम्मान प्रकट गरिएको छ । प्रतिनिधिसभा सदस्यका पूर्वउम्मेदवार हर्षबहादुर बमले झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । न्यौपाने सवार भे ६ प ३३३१ नम्बरको मोटरसाइकल सोमबार बिहान करिब ७:३० बजे कर्णाली राजमार्गको काले खोला खण्डमा दुर्घटना भएको थियो ।

काले खोलाको मोडमा भएको दुर्घटनामा मोटरसाइकल सडकमै रहे पनि न्यौपाने भने सडकबाट तल खस्नुभएको थियो । घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल कालीकोट पुर्‍याइएका उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा शव परीक्षण गरेपछि मंगलबार अन्त्येष्टि गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार मोटरसाइकलमा उहाँ एक्लै सवार हुनुहुन्थ्यो । दुर्घटनाकै क्रममा घाँटीको हड्डी भाँचिएका कारण उहाँको मृत्यु भएको अनुमान गरिएको र विस्तृत विवरण पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले बताएको छ ।