घोराही समाचारदाता
घोराही, फागुन ११ गते । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर जिल्ला सुरक्षाव्यवस्था कडाइ गरिएको छ । निर्वाचनसँगै दलको प्रचारप्रसारका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान गर्दै सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनुभयो । उहाँका अनुसार निर्वाचनलक्षित कुनै पनि गतिविधि हुन नदिनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरीलाई परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार निर्वाचनका लागि करिब साढे पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने छन् ।
सोही अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा रहेका १५९ मतदान स्थल र ४८२ मतदान केन्द्रसँगै समग्र सुरक्षाव्यवस्था मजबुत बनाउनका लागि करिब पाँच हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालनको तयारी भएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।